रुपन्देहीको मर्चवारी गाउँपालिकाका पशु शाखा प्रमुखसहित दुई जनाविरुद्ध घुसकाण्डमा आरोपपत्र

काठमाडाैँ । जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिकाका पशु शाखा प्रमुख रामचन्द्र भुषालसहित दुई जनाविरुद्ध घुस लिएको अभियोगमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मर्चवारी गाउँपालिकाको पशुपन्छी खोप तथा औषधि वितरण कार्यक्रम सञ्चालनका क्रममा घुस लिएको पुष्टि भएपछि कानुनी कारबाही अघि बढाएको हो।
अनुसन्धानका क्रममा पशु शाखा प्रमुख भुषालले बुद्ध भेट सेन्टरबाट पशु सेवा कार्यक्रमको सिफारिस, भुक्तानी अनुमोदन तथा अन्य सहजीकरणका लागि रु. ४ लाख घुस लिएको प्रमाणित भएको आयोगले जनाएको छ। सो रकम बुद्ध भेट सेन्टरका प्रोपाइटर लक्ष्मी बस्यालको बैंक खाताबाट भुषाललाई हस्तान्तरण गरिएको खुलेको छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार उनीहरूलाई कैद सजाय तथा बिगो बराबर जरिवाना माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ। साथै, घुस लिएको रकम जफत गर्न समेत माग गरिएको छ।