मुस्लिम समुदायले मनाए इद उल फित्र

काठमाडौँ । मुस्लिम समुदायले आज उल्लासपूर्वक इद उल फित्र मनाएका छन् । बिहानै शुद्ध भई मस्जिद तथा इदगाहहरूमा गइ सामूहिक नमाज अदा गर्दै उनीहरूले एकआपसमा शुभकामना आदानप्रदान गरेका छन् ।
इद उल फित्र इस्लाम धर्मावलम्बीहरूको प्रमुख पर्वमध्ये एक हो । यो पर्व इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनको रूपमा मनाइन्छ ।
रोजाको अवधिमा मुस्लिम धर्मावलम्बीहरूले सूर्योदयदेखि सूर्यास्तसम्म भोजन, पानी तथा अन्य भौतिक सुख-सुविधाबाट टाढा रही आत्मसंयम, दानशीलता, तथा आध्यात्मिक शुद्धताको अभ्यास गर्छन् ।
काठमाडौँको जामे मस्जिद, टुँडिखेललगायत देशभरका विभिन्न मस्जिदहरूमा बिहानैदेखि मुस्लिम धर्मावलम्बीहरूको भीड लागेको थियो । उनीहरूले नमाज अदा गर्दै परस्पर शुभकामना साटासाट गरी इद उल फित्रको खुशियाली मनाएका छन् । इद उल फित्रको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।