२६ असार २०८२, बिहिबार

पूर्वराजा ज्ञानेन्द्रले सम्झौता भंग गरे, सेवासुविधा कटौती गर्नुपर्छ-सांसद भट्टराई

प्रकाशित मिति :  31 March, 2025 3:38 pm


काठमाडौँ । नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासबाट केही व्यक्तिलाई माला लगाएर जनताको घर जलाउन पठाएको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले पूर्वराजाले राज्यसँग गरेको सम्झौता भंग गरेको भन्दै उहाँलाई दिइएको सेवा सुविधा कटौती गर्नेबारे सोच्नुपर्ने बताएका छन् ।

उनले पूर्वराजाले सम्झौता उल्लंघन गरेको कारण उहाँलाई प्रदान गरिएका सुविधाहरू कायम रहने कि नरहने भन्ने विषयमा सरकारसँग स्पष्ट जवाफ मागे ।

‘सम्झौता भंग भयो, सेवासुविधा के हुन्छ ?’
सांसद भट्टराईले भने, “पूर्वराजा शाहलाई सरकार पूर्वराष्ट्राध्यक्षको रूपमा सेवा र सम्मान दिन्छ भनेर व्यवस्था गरिएको हो। तर आज उहाँले राज्यसँग गरेको सम्झौता भंग गर्नुभयो। अब सरकारलाई सोध्न चाहन्छु-सम्झौता भंग भएपछि उहाँलाई दिइएको सेवासुविधा कायम रहन्छ कि हटाइन्छ ?”

उनले पूर्वराजा शाहले गणतन्त्रविरोधी गतिविधिमा संलग्न भएकाले सरकारको ध्यानाकर्षण गराए। “उहाँले लफंगाहरुलाई जनकमाण्डर बनाएर तीनकुनेमा ताण्डव नृत्य नचाउन पठाउनुभयो। निर्मल निवासबाट माला लगाएर जनताको घर जलाउन पठाउनुभयो । यस्तो अवस्थामा उहाँलाई दिइएको सेवासुविधा कटौती गरिनुपर्छ,” भट्टराईले भने ।

‘राजाहरूले राष्ट्र जोगाउन सकेनन्’
सांसद भट्टराईले नेपालको इतिहासलाई स्मरण गर्दै पृथ्वीनारायण शाह र बहादुर शाहबाहेकका राजाहरूले राष्ट्र जोगाउने काम गर्न नसकेको आरोप लगाए । “नेपालको सिमाना पहिले कहाँ थियो, अहिले कहाँ छ?” भन्दै उनले विगतका शासकहरूको भूमिकामाथि प्रश्न उठाए ।

उनको भनाइले पूर्वराजा शाहको गतिविधि, राज्यसँगको सम्झौता र राष्ट्रनिर्माणमा राजतन्त्रको भूमिकाबारे पुनर्विचार गर्नुपर्ने बहसलाई संसदमा उचालेको छ ।



प्रतिक्रिया दिनुहोस !