२६ असार २०८२, बिहिबार

रेडियो नेपालको भूमिका अझै अहम्-मन्त्री गुरुङ

प्रकाशित मिति :  31 March, 2025 4:37 pm


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकलाई राष्ट्रिय एकतामा आबद्ध गराउन रेडियो नेपालको भूमिका अझै महत्वपूर्ण हुने बताएका छन् ।

सोमवार काठमाडौँमा आयोजित सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको ७५ औँ वार्षिकोत्सव (हीरक महोत्सव) कार्यक्रममा मन्त्री गुरुङले प्रजातन्त्र स्थापनामा रेडियो नेपालको योगदान जति महत्वपूर्ण थियो, अहिले पनि राष्ट्रिय एकता निर्माणमा त्यसको भूमिका उत्तिकै अहम रहने बताए ।

‘राजकीय सत्ता फिर्ता ल्याउने प्रयास मूर्खतापूर्ण’

कार्यक्रममा बोल्दै मन्त्री गुरुङले राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शन सामन्ती प्रवृत्तिको रहेको बताए । उनले पूर्व राजा ज्ञानेन्द्रले पार्टीहरूको अगाडि थाकेर जनतालाई सार्वभौम सत्ता हस्तान्तरण गरिसकेको ऐतिहासिक सन्दर्भ उल्लेख गर्दै हराइसकेको राजकीय सत्ता फिर्ता ल्याउने प्रयास मूर्खतापूर्ण हुने बताए ।

उनले भने, ‘‘गणतान्त्रिक शासन व्यवस्थामा राजा आउँ, देश बचाउ भन्नु सज्जनहरूको काम होइन। जनता माझ सत्यतथ्य सूचना दिन सार्वजनिक सेवा प्रसारण संस्थानहरूको भूमिका अझ महत्त्वपूर्ण छ।’‘

‘रेडियो नेपाल जनताको घरदैलोमा गुञ्जिनुपर्छ’

नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले रेडियो नेपालले सरकारको प्रशंसा मात्र नभई जनतालाई सही सूचना प्रदान गर्ने दायित्व वहन गर्नुपर्ने बताए । उनले भने, ‘‘राष्ट्रिय एकता सिर्जना गर्ने माध्यम रेडियो नेपाल भएकाले यसलाई प्रत्येक जनताको पहुँचमा पुर्‍याउन जरुरी छ।’‘

त्यस्तै, सञ्चार सचिव राधिका अर्यालले रेडियो नेपालको गरिमामय इतिहास रहेको बताउँदै सार्वजनिक सेवा प्रसारण (PSB) मा रूपान्तरणपछि यसले जनताप्रति अझ बढी जवाफदेही बन्नुपर्ने धारणा व्यक्त गरिन् ।

पिएसबीका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले आगामी दिनमा रेडियो नेपालको पहुँच १०० प्रतिशत जनतामा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै समावेशी कार्यक्रम निर्माणमा विशेष ध्यान दिइने जानकारी दिए ।

कार्यक्रममा हुलाक सेवा विभागले रेडियो नेपालको हीरक जयन्ती अवसरमा पहिलो हुलाक टिकट आवरण प्रकाशन गरेको थियो, जसमा सञ्चारमन्त्री गुरुङले टाँचा प्रदान गरे ।



प्रतिक्रिया दिनुहोस !