६ बैशाख २०८२, शनिबार

प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमण : नयाँ कूटनीतिक उचाइको संकेत

प्रकाशित मिति :  1 April, 2025 2:54 pm


दाङ । प्रधानमन्त्री केपी शर्मा ओली पाँचदिने औपचारिक भ्रमणका क्रममा थाइल्याण्ड प्रस्थान गरेका छन्। मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उनी थाइल्याण्डतर्फ गएका हुन् ।

नेपाल–थाइल्याण्ड दौत्य सम्बन्ध गाँसिएको ६५ वर्षको इतिहासमा नेपालका कुनै पनि प्रधानमन्त्रीले पहिलो पटक औपचारिक रूपमा थाइल्याण्ड भ्रमण गर्न लागेका हुन् ।

नेपाल र थाइल्याण्डबीच सन् १९५९ नोभेम्बर ३० मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसयता दुई देशबीच उच्चस्तरीय भ्रमणहरू सीमित रहँदै आएका छन् ।

विगत ६५ वर्षमा थाइल्याण्डका प्रधानमन्त्रीले मात्र एकपटक नेपाल भ्रमण गरेका छन्, भने नेपालका प्रधानमन्त्रीको औपचारिक भ्रमणको अभाव थियो । प्रधानमन्त्री ओलीको यो भ्रमणले नेपाल-थाइल्याण्ड सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

प्रधानमन्त्री ओली बिमस्टेकको छैटौँ शिखर सम्मेलनमा भाग लिन थाइल्याण्ड गएका हुन् । अप्रिल २ देखि ४ तारिखसम्म सञ्चालन हुने यो सम्मेलनमा सदस्य राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको सहभागिता रहनेछ । सम्मेलनको विशेष बैठक अप्रिल ४ मा आयोजना हुनेछ, जसमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् ।

नेपाल बिमस्टेकका संस्थापक सदस्य राष्ट्रहरूमध्ये एक हो र यस संगठनमार्फत दक्षिण तथा दक्षिणपूर्वी एसियाली मुलुकहरूसँग सहकार्य गर्दै आएको छ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओली र थाइल्याण्डका समकक्षीबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक हुने तय भएको छ। बैठकमा दुई देशबीचका आपसी सहकार्य, व्यापार तथा पर्यटन प्रवर्द्धन, लगानी विस्तार, सांस्कृतिक आदान-प्रदान तथा कूटनीतिक सम्बन्ध सुदृढीकरणबारे छलफल हुनेछ । बैठकपछि नेपाल र थाइल्याण्डबीच आठवटा समझदारीपत्र (एमओयू) तथा सम्झौतापत्रमा हस्ताक्षर हुने निश्चित भएको छ।

सम्झौतामध्ये दुईवटा समझदारी सरकारी निकायहरूबीच हुनेछ भने बाँकी छवटा गैरसरकारी निकायहरूबीच हस्ताक्षर गरिनेछ । दुई देशका सरकारी निकायबीच पर्यटन र संस्कृतिका क्षेत्रमा दुईवटा महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर हुने तय भएको छ।

नेपाल र थाइल्याण्ड पर्यटनका दृष्टिले महत्वपूर्ण गन्तव्य मुलुक भएकाले यस समझदारीले पर्यटन प्रवर्द्धनलाई थप गति दिने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री ओलीको यो भ्रमण नेपाल-थाइल्याण्ड सम्बन्ध सुदृढ पार्न मात्र नभई, बिमस्टेकमार्फत बहुपक्षीय तथा द्विपक्षीय सहकार्यलाई मजबुत बनाउन महत्त्वपूर्ण हुने अनुमान गरिएको छ ।

भ्रमणका क्रममा भएका छलफल तथा सम्झौताले दुवै देशबीच आर्थिक, सांस्कृतिक र कूटनीतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।



प्रतिक्रिया दिनुहोस !