प्रधानमन्त्री ओली र थाइ समकक्षी शिनावातबीच आज बैङ्ककमा भेटवार्ता
काठमाडाैँ । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका थाइ समकक्षी पे थोङ् थान् शिनावातबीच आज भेटवार्ता हुँदै छ ।
थाइल्याण्डको सरकारी भवनमा हुने यो भेटवार्ताअघि प्रधानमन्त्री ओलीले समकक्षी शिनावातले आयोजना गरेको स्वागत समारोहमा सहभागिता जनाए ।
थाइल्याण्डका प्रधानमन्त्री शिनावातको मैत्रीपूर्ण निमन्त्रणामा भएको यो भ्रमण नेपालका प्रधानमन्त्रीबाट थाइल्याण्डको पहिलो औपचारिक भ्रमण हो । यो भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन र सहकार्यका नयाँ क्षेत्र पहिल्याउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटन क्षेत्रमा सहकार्यलाई प्रोत्साहन गर्ने सम्झौतापत्रमा हस्ताक्षर हुनेछ। साथै, दुई देशका गैरसरकारी र व्यावसायिक संस्थाहरूबीच छवटा सहमतिपत्रमा हस्ताक्षर हुने कार्यक्रम तय भएको छ।
सम्झौतापछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेछन् । त्यसपछि प्रधानमन्त्री ओली आफ्नो सम्मानमा थाइ समकक्षीले आयोजना गरेको दिवभोजमा सहभागी हुनेछन् ।
यसै दिन प्रधानमन्त्री ओलीले थाइल्याण्डका राजा महा बजिरालोङकर्नसँग पनि शिष्टाचार भेट गर्नेछन् । उनी मङ्गलबार अपराह्न थाइल्याण्डको राजधानी बैङ्कक पुगेका थिए ।








