सहकारीहरू अनिवार्य रूपमा उत्पादनसँग जोडिनुपर्छ-मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहकारी संस्थाहरू उत्पादनसँग जोडिनु आवश्यक रहेको बताएका छन् । ६८ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा लुम्बिनी प्रदेशका उत्कृष्ट सहकारी संस्थाहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारी संस्थाहरू उत्पादनसँग नजोडिएसम्म प्रदेशको समृद्धि सम्भव नहुने धारणा व्यक्त गरे ।
मुख्यमन्त्री आचार्यले भने, “सहकारीहरू जुन लक्ष्य र उद्देश्यका लागि स्थापना भएका थिए, त्यहीअनुसार उत्पादनसँग पर्याप्त रूपमा जोडिन सकेका छैनन् । स्थानीय उत्पादन बढाउन सहकारी संस्थाहरूको भूमिका महत्त्वपूर्ण छ। किसानहरूको उत्पादन बजारसम्म पुर्याउने, आयआर्जन बढाउने र जीवनस्तर उकास्ने माध्यम सहकारी नै हुन् ।”
उनले समाजवादको आधारशिला सहकारी भएको उल्लेख गर्दै प्रदेश सरकारले सहकारी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए तर पछिल्लो समय सहकारीहरू आफ्ना मूल उद्देश्यभन्दा बाहिर गएर सञ्चालन हुँदा समस्या सिर्जना भएको र त्यसलाई सुधार्ने प्रयास भइरहेको मुख्यमन्त्री आचार्यको भनाइ छ।
“नियतबस खोलिएका केही सहकारी संस्थाका कारण असल सहकारीहरूमाथि समेत प्रश्न उठ्ने परिस्थिति सिर्जना भएको छ तर राम्रो काम गर्ने सहकारी अभियन्ताहरू विचलित हुने अवस्था आउन दिन्नौं । उपभोक्ताको रकम अपचलन गर्ने, नकारात्मक काम गर्ने सहकारीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने नीति प्रदेश सरकारले लिएको छ,” उनले भने ।
प्रदेश सरकारले राम्रो काम गरेका सहकारी संस्थालाई प्रोत्साहन गर्ने नीति लिएको समेत मुख्यमन्त्री आचार्यले उल्लेख गरे । सहकारी अभियानलाई अझ व्यापक बनाउन आवश्यक रहेकोमा उहाँको विशेष जोड रह्यो ।
कार्यक्रममा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गरेका चारवटा सहकारी संस्थाहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।