तीनकुने घटना पूर्वराजाको उक्सावटमा भएको ‘सफ्ट कू’ हो-एमाले सांसद पन्त

काठमाडौं, चैत २३ – नेकपा (एमाले) का सांसद रघुजी पन्तले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनालाई पूर्वराजा ज्ञानेन्द्र शाहको उक्सावटमा भएको ‘सफ्ट कू’को प्रयास भएको दाबी गरेका छन्।
शुक्रवार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पन्तले सो घटनामा पूर्वराजा शाहको संलग्नता रहेको विषयमा सरकारले जनतालाई स्पष्ट पार्नुपर्ने बताए। उनले सो घटना संवैधानिक चरित्रको नभएको र प्रदर्शनकारीहरूले सिंहदरबार, नारायणहिटी दरबार संग्रहालय र संघीय संसद भवन कब्जा गर्ने कुप्रयास गरेको दाबी गरे।
सरकारको भूमिकाप्रति प्रश्न
सांसद पन्तले प्रदर्शनकारीहरूले हिंसात्मक अभिव्यक्ति दिँदै राज्यसंस्थाहरूलाई कब्जा गर्ने योजनासहित अघि बढ्दा पनि सरकार मुकदर्शक भएर बसेको आरोप लगाए। उनले भने, “यी सबै गतिविधिमा पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिका के हो? यदि छैन भने सरकारले प्रष्ट पार्नुपर्छ, छ भने प्रमाणसहित जनताको सामु ल्याउनुपर्छ। १५ गतेको घटना पूर्वराजाको उक्साहटमा भएको सफ्ट कूको प्रयास थियो। सिंहदरबार कब्जा गर्ने, नारायणहिटी कब्जा गर्ने, संसद कब्जा गर्ने जस्ता गतिविधिहरूले त्यसको संकेत दिन्छन्।”
उनले प्रदर्शनका कमाण्डरले खुलेआम हिंसात्मक अभिव्यक्ति दिएर पनि सरकार मौन बसेकोमा आपत्ति जनाए।
न्यायिक छानबिनको माग
सांसद पन्तले तीनकुने घटनालाई सामान्य रूपमा नलिइ न्यायिक छानबिन गर्नुपर्नेमा जोड दिए। उनले यस्तो घटनामा न्यायिक आयोग गठन गर्न नहुने तर “श्री ५ को सरकार” भनेर सम्बोधन गर्नेहरूलाई कानूनी कारबाही गर्नुपर्ने बताए।
तीनकुने घटनाका बारेमा सरकारको आधिकारिक धारणा आउनुपर्ने माग गर्दै सांसद पन्तले यस्ता गतिविधिहरूलाई समयमै नियन्त्रण नगर्ने हो भने लोकतान्त्रिक प्रणालीलाई गम्भीर चुनौती पुग्न सक्ने चेतावनी दिए।