६ बैशाख २०८२, शनिबार

सगरमाथा संवादमा मोदी नआउने, भारतको उच्चस्तरीय सहभागिता रहन्छ-प्रधानमन्त्री ओली

प्रकाशित मिति :  5 April, 2025 1:42 pm


काठमाडौँ । थाइल्याण्डको पाँचदिने औपचारिक भ्रमण सकेर स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सगरमाथा संवादमा सहभागी नहुने बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले मोदीले पहिले नै तय भइसकेको युरोप भ्रमणका कारण नेपाल आउन नसक्ने जानकारी गराएको बताए ।

प्रधानमन्त्री ओलीले भने, “मोदीजी सगरमाथा संवादमा आउन सक्नुहुन्न, उहाँको युरोप भ्रमण पहिले नै तय भइसकेको रहेछ। तर भारतबाट राम्रै स्तरको प्रतिनिधित्व हुनेछ ।”

भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले बैंककमा भारतीय समकक्षी मोदीसँग भेटवार्ता गरेका थिए । उक्त भेटलाई उनले फलदायी र सुमधुर भएको बताए ।

“हामीबीच नेपाल-भारत सम्बन्धलाई अझ व्यापक र सुदृढ बनाउने विषयमा गहिरो समझदारी भयो,” उनले भने, “सानातिना समस्या देखिन सक्छन्, तर संवादमार्फत समाधान गर्ने हाम्रो साझा अठोट छ ।”

प्रधानमन्त्री ओलीले भारत भ्रमण असम्भव नरहेको स्पष्ट पारेका छन् । भारत भ्रमण नभएको विषयमा उनले स्पष्ट पारी भने, “कहिले के कारणले, कहिले केले समय नमिल्दा मात्रै हो, भारत भ्रमण अबरुद्ध भएको भन्ने हैन । काँडेतार लगाइएको छैन, मौका मिल्यो भने जान सकिन्छ ।”

सगरमाथा संवाद अघि नै भारत भ्रमण हुन सक्ने सम्भावनाबारे सोधिएको जिज्ञामा ओलीले भने, “हामी अहिले अलि व्यस्त छौं, सगरमाथा संवादको तयारी पनि छ, तर हाम्रो तर्फबाट समय मिल्यो भने हुन पनि सक्छ ।”

प्रधानमन्त्री ओलीले थाइल्याण्ड भ्रमणलाई अवसरमूलक र सकारात्मक बनेको उल्लेख गर्दै विभिन्न मुलुकका नेताहरूसँगको भेटवार्ताबाट क्षेत्रीय सहकार्य सुदृढ हुने विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !