देशका अमूल्य सम्पदाको संरक्षणमा तीन तहकै सरकारको ध्यान आवश्यक-राष्ट्रपति पौडेल

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले देशभर रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाहरू नेपालको शान, पहिचान र राष्ट्रिय गौरवसँग जोडिएका भएकाले यस्ता सम्पदाको संरक्षण, विकास र संवर्द्धनमा तीन तहकै सरकारले समान रूपमा ध्यान दिनु आवश्यक भएको बताएका छन्।
आइतबार ललितपुर महानगरपालिका–१६, पाटन दरबार क्षेत्रस्थित जिर्णोद्वार तथा पुनर्निर्माण गरिएको देगुतलेजु मन्दिरको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सम्पदा संरक्षणलाई सबै तहका सरकारको साझा दायित्वको रूपमा लिनुपर्नेमा जोड दिए ।
“देशभर रहेका हाम्रा ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदा नेपाल र नेपालीको शान र पहिचान हुन्,” राष्ट्रपति पौडेलले भने, “यी सम्पदाहरू पूर्खाहरूको मेहनत, परिश्रम र चिनोको रूपमा रहेका छन्। त्यसैले यिनको संरक्षण हाम्रो साझा जिम्मेवारी हो ।”
राष्ट्रपतिले नेपालको अनुपम भौगोलिक विविधता र सांस्कृतिक वैभवलाई विश्वसामु चिनाउने माध्यमका रूपमा सम्पदालाई उल्लेख गर्दै मठमन्दिर, शक्तिपीठ, तीर्थस्थलजस्ता सम्पदाहरूको दीगो संरक्षण र प्रचारप्रसारमा पनि सरकारहरू अग्रसर हुनुपर्ने धारणा राखे ।
उनले देशका अमूल्य सम्पदाको संरक्षणमा सरकारका पहलसँगै नागरिक तहमा पनि सचेतना, जागरुकता र सहभागिता आवश्यक रहेको बताए । “यी सम्पदा भविष्यका सन्ततिहरूलाई आफ्नो इतिहास र पहिचान बुझ्ने महत्वपूर्ण कडी हुन्,” राष्ट्रपति पौडेलले उल्लेख गरे ।
समुद्घाटन कार्यक्रमले ललितपुर क्षेत्रका सांस्कृतिक सम्पदाको संरक्षणमा स्थानीय तहको सक्रियता र केन्द्र तथा प्रदेश सरकारसँगको समन्वयको सफल उदाहरण प्रस्तुत गरेको राष्ट्रपति पौडेलको भनाइ थियो।
सम्पदाको संरक्षण र संवर्द्धनमार्फत नेपालको पर्यटन, संस्कृति र अर्थतन्त्रमा पनि योगदान पुर्याउन सकिने भएकाले यसलाई दीर्घकालीन रणनीतिक प्राथमिकतामा राख्नुपर्नेमा राष्ट्रपतिले जोड दिएका हुन्।
कार्यक्रममा संघीय सरकारका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, संस्कृतिविद्हरू तथा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो ।