१७ बैशाख २०८२, बुधबार

सडक होइन, संवादबाट समाधान खोजौँ- प्रधानमन्त्री ओली

प्रकाशित मिति :  11 April, 2025 5:59 pm


दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूलाई केवल व्यक्तिगत हित होइन, राष्ट्रिय हित र आर्थिक अवस्था समेतलाई ध्यानमा राख्न आग्रह गरेका छन् ।

नेकपा एमालेले शुक्रबार बुटवलमा आयोजना गरेको पार्टी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समस्या समाधानका लागि सरकार वार्तामा तयार भइसकेको बताए ।

“समस्याहरू छन्, तर सडक प्रदर्शनमा जानु पर्थेन”, प्रधानमन्त्री ओलीले भने, “शिक्षकहरूले आफ्नो मात्र हित हेरेर हुँदैन, राष्ट्रको हित र देशको आर्थिक अवस्था पनि बुझ्नुपर्छ। भावनामा बगेर समाधान हुँदैन ।”

शिक्षकहरू विगत १० दिनदेखि शिक्षा ऐनसम्बन्धी माग राख्दै देशभर प्रदर्शनरत छन् । तर प्रधानमन्त्री ओलीले उनीहरूको आन्दोलनको शैलीप्रति असन्तुष्टि जनाउँदै वार्ताको बाटो अपनाउनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले उपयुक्त र व्यवहारिक शिक्षा ऐन चाँडै ल्याउने प्रतिवद्धता जनाउँदै आन्दोलनले उत्पन्न अवस्था समाधानको उपाय नभएको तर्क राखे ।

उनले वर्तमान सरकार नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्यमा स्थायित्वको लागि बनेको भन्दै यसलाई कसैले चाहेर पनि ढाल्न नसकिने दाबी गरे ।

सामाजिक सञ्जालमार्फत आफूमाथि गलत प्रचार गरिएको गुनासो पनि प्रधानमन्त्रीले गरे। “अफवाह फैलाउन लेख्ने, प्रचार गर्ने, नक्कली भिडियो बनाउने, एआईको प्रयोग गरेर बदनाम गर्ने प्रयास भइरहेको छ,” उनले भने, “यी सबै भ्रमको जवाफ मिसन ८४ ले दिनेछ ।”

ओलीले पार्टी कार्यकर्तालाई यस्ता भ्रमहरूविरुद्ध सचेत र सक्रिय बन्न निर्देशन दिँदै देश संविधानपछि समृद्धिको मार्गमा अगाडि बढिरहेको बताएका छन् । वर्तमान सरकार त्यसै मार्गलाई अझ तीव्र बनाउनेतर्फ केन्द्रित रहेको पनि उनले उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस !