१७ बैशाख २०८२, बुधबार

राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न, सेवा प्रवाह र जवाफदेहितामा जोड

प्रकाशित मिति :  13 April, 2025 4:52 pm


लक्ष्मी पाेखरेल
देउखुरी ।
दाङको राप्ती गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम आइतबार सम्पन्न गरेको छ ।

वडा नं. ७ स्थित भानपुर चोकमा आयोजित कार्यक्रममा गाउँपालिकाले आफ्ना विभिन्न शाखा तथा कार्यालयहरूबाट प्रदान गरिएका सेवा, योजना र कार्यक्रमहरूबारे स्थानीय जनतालाई जानकारी गराउँदै प्रत्यक्ष अन्तरक्रिया गरेको हो ।

कार्यक्रमको मूल उद्देश्य सेवाग्राहीहरूलाई सुसूचित बनाउँदै सेवा प्रवाहमा देखिएका समस्या, चुनौती र जनगुनासाहरू सुन्ने तथा जवाफदेहीता सुनिश्चित गर्नु रहेको थियो ।

कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, सडक, सिँचाइ, विद्युत, विपद् व्यवस्थापन, न्यायिक सेवा र सुशासन जस्ता विविध विषयमा स्थानीयवासीले जिज्ञासा, सुझाव र गुनासा व्यक्त गरेका थिए ।

उक्त जिज्ञासाहरूको जवाफ गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चौधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, वडा अध्यक्षहरू तथा सम्बन्धित शाखा प्रमुखहरूले दिएका थिए ।

अध्यक्ष विष्टले कार्यक्रममा बोल्दै निर्वाचनका बेला जनतासामु व्यक्त गरिएको अधिकांश प्रतिबद्धता पालिकाले पूरा गरेको दाबी गर्दै अबको प्राथमिकता समृद्धि, दिगो विकास र प्रभावकारी सेवा प्रवाह रहेको उल्लेख गरे ।

उनले भने, “काम गर्दा ढिलोचाँडो त हुन्छ, तर हामी राप्तीवासीको सेवामा निरन्तर क्रियाशील छौँ । जनताको खबरदारी, सुझाव र सल्लाह हाम्रो लागि मार्गदर्शक हो ।”

उनले विशेषगरी शिक्षा, स्वास्थ्य, कृषि तथा उद्यमशीलता क्षेत्रमा गाउँपालिकाले केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराउँदै दिगो विकासका लागि जनसहभागिता अपरिहार्य रहेकोमा जोड दिए ।

कार्यक्रमको सहजीकरण पत्रकार चुमा आचार्य र दिबाकर पोख्रेलले गरेका थिए । राप्ती गाउँपालिकाले पारदर्शिता, सुशासन र जवाफदेहिताको अभ्यासस्वरूप सार्वजनिक सुनुवाइ कार्यक्रम प्रत्येक त्रैमासिकमा नियमित रूपमा सञ्चालन गर्दै आएको छ।



प्रतिक्रिया दिनुहोस !