२९ बैशाख २०८२, सोमबार

स्याङ्जामा गोरु काटेको आरोपमा एक पक्राउ, १० दिनको म्याद थपेर अनुसन्धान जारी

प्रकाशित मिति :  30 April, 2025 5:40 pm


स्याङ्जा । स्याङ्जाकाे पुतलीबजार नगरपालिका वडा नम्बर १२, पेल्काचौर सिम्लेका ४० वर्षीय टेक भन्ने डम्बर बहादुर गुरुङ गोरू काटेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।

गत वैशाख १६ गते साँझ करिब ७ः३० बजे गुरुङले आफ्नै घरमा पालेको गोरूलाई घरनजिकै बारीमा लगी फलामको घनले टाउकोमा प्रहार गरी मारेको सूचना प्रहरीलाई प्राप्त भएको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा खोजतलास गर्दा गोरूको मासु काटी टुक्रा टुक्रा पारेर त्रिपालमा बेरी घरको आँगनमा लुकाएर राखिएको अवस्थामा फेला पारेको हो।

घटनापछि फरार रहेका गुरुङलाई प्रहरीले अनुसन्धानको क्रममा वैशाख १७ गते दिउँसो १२ बजे पुतलीबजार–१२, पेल्काचौरमै लुकिछिपी बसेको अवस्थामा फेला पारेर पक्राउ गरेको हो।

पक्राउ परेका गुरुङमाथि पशुपन्छी सम्बन्धी कसूरअन्तर्गत मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालत स्याङ्जाबाट १० दिनको म्याद थप अनुमति लिई हाल थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ।

घटनास्थलबाट प्रहरीले विभिन्न हतियारसहित प्लाष्टिक बोरा र फलाम धार बनाउन प्रयोग गरिने स्लिप ढुङ्गा समेत बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि प्रसाद पौडेलका अनुसार घटनाबारे आवश्यक अनुसन्धान जारी छ।



प्रतिक्रिया दिनुहोस !