‘मेरा काका चाउ एनलाई’ को नेपाली संस्करण पुस्तक विमोचन
काठमाडौँ । ‘मेरा काका चाउ एनलाई’ पुस्तकको नेपाली संस्करणको विमोचन बुधबार काठमाडौँको बेल्ट एन्ड रोड पुस्तकालयमा सम्पन्न भएको छ । सो पुस्तकलाई नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वार्षिकोत्सवको अवसरमा विमोचन गरिएको हो ।
पुस्तकको नेपाली संस्करण ‘मेरा काका चाउ एनलाई’ का लेखक चाउ एर्लियुका पुस्तकलाई चाउ एनलाईकी नातिनी चाउ रोग, नेपालस्थित चिनियाँ दूतावासका उपप्रमुख वाङ सीन, चाइना स्टडी सेन्टरका महासचिव डा. उपेन्द्र गौतम, अनुवादक अजय शर्मा र सम्पादक तथा प्रकाशक किरण गौतमले संयुक्त रूपमा विमोचन गरेका थिए ।
कार्यक्रममा वाङ सीनले प्रधानमन्त्री चाउ एनलाईको निःस्वार्थ योगदान र नेपाल–चीन सम्बन्ध निर्माणमा उनकाको ऐतिहासिक भूमिकाको प्रशंसा गर्दै सो पुस्तकलाई ‘हिमालवारपारको आत्मिक पुल’को रूपमा प्रस्तुत गरे ।
उनले सन् १९५७ र १९६० मा चाउ एनलाईका नेपाल भ्रमणहरूको उल्लेख गर्दै सगरमाथा–चोमोङ सीमा समाधानको ऐतिहासिक घटनालाई स्मरण गरे ।
चाउ रोंगले नेपालमा प्राप्त आत्मीय स्वागतको लागि आभार व्यक्त गर्दै आफ्नो परिवारको नेपालसँगको गहिरो सम्बन्धका बारेमा आफ्ना अनुभवहरू साझा गरे ।
कार्यक्रममा पुस्तकका नेपाली अनुवादक र गोरखापत्र दैनिकका उप–सम्पादक अजय शर्माले चाउ एनलाईलाई केवल एक राजनेता मात्रै नभएर एक सहृदय र गम्भीर व्यक्तिका रूपमा प्रस्तुत गर्दै पुस्तक अनुवादलाई आफ्नो जीवनको सबैभन्दा भावनात्मक र प्रेरणादायी अनुभवका रूपमा व्याख्या गरे । उनले भने, “यो अनुवाद केवल भाषानुवाद मात्रै थिएन, यो दुई देशका संस्कृतिबीचको सेतु निर्माणको अवसर थियो ।”
शर्माले अनुवादका क्रममा चिनियाँ इतिहासका महत्वपूर्ण घटनाहरूको अनुभव गरेको र चाउ एनलाईको जीवनले नेतृत्व, निष्ठा र पारिवारिक मूल्यबोधका बारेमा गहिरो प्रभाव पारिएको उल्लेख गरे ।
उनले थपे, “मेरो बुबा नेत्रलाल शर्मा ‘अभागी’ नेपालका कम्युनिस्ट नेता तथा सहिद हुनुहुन्छ। यो पुस्तकले मलाई मेरो बुबाको जीवन र योगदानबारे पुस्तक लेख्न प्रेरित गरेको छ। यस अभियानमा म जुटेको छु ।”
यो कार्यक्रम नेपाल र चीनबीचको सांस्कृतिक र कूटनीतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने सन्देश सहित सम्पन्न भएको थियो ।








