२१ मंसिर २०८२, आइतबार

श्रमिकको पसिनाले देश अघि बढेको छ : प्रधानमन्त्री ओली

प्रकाशित मिति :  1 May, 2025 10:21 am


फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवीहरूलाई शुभकामना दिँदै श्रमिकको योगदानले देश अगाडि बढेको र समाज जोगिएको उल्लेख गरेका छन् ।

फेसबुकमार्फत शुभकामना सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षाका निम्ति कार्यान्वयनमा ल्याइएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको स्मरण गर्दै प्रारम्भिक आलोचनाप्रति प्रतिक्रिया जनाएका छन् ।

“देश अघि बढेको छ श्रमिकको पसिनाले, समाज बाँचेको छ उनीहरूको समर्पणले”, प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ । उनले केही वर्षअघि शुरु गरिएको सामाजिक सुरक्षा योजनाको सुरुआतमा व्यङ्ग्य र ट्रोलहरूको सामना गर्नुपरेको स्वीकार गर्दै आज सो योजनामार्फत २० लाखभन्दा बढी श्रमिक लाभान्वित भइसकेको जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले श्रमिकको भविष्य सुरक्षित बनाउन सकिएको दाबी गर्दै भनेका छन्, “अब श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित छ ।”

सन्देशमा उनले श्रमिकको घरमा छोराछोरीको उज्यालो मुहार र आमाबुबाको निर्धक्क जीवन ल्याउन सरकार सफल भइरहेको उल्लेख गरेका छन्। उनले श्रम र श्रमिकप्रति सम्मान प्रकट गर्दै श्रमिक दिवसको अवसरमा आफूलाई श्रमिककै पहिचानमा जोड दिएका छन् ।

श्रमिकको सामाजिक सुरक्षालाई दीर्घकालीन प्रणालीमा जोड्ने प्रयासस्वरूप योगदानमा आधारित सामाजिक सुरक्षा योजना नेपाल सरकारले सन् २०१८ मा लागू गरेको थियो ।

सुरुमा निजी क्षेत्रले मिश्रित प्रतिक्रिया दिए पनि पछिल्लो समय योजनामा दर्ता हुने श्रमिकको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको देखिन्छ। प्रधानमन्त्री ओलीको सन्देश श्रमिकको सम्मान र सुरक्षातर्फ सरकारको प्रतिबद्धता दर्शाउने प्रयासको रूपमा आएको हो।



प्रतिक्रिया दिनुहोस !