श्रमजीवीको सम्मानमा विशेष कार्यक्रम सम्पन्न
दाङ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा पेशागत महासंघ जिल्ला समन्वय समिति दाङले आज घोराहीमा विभिन्न पेशामा आवद्ध श्रमिकहरूलाई सम्मान गरेको छ ।
कार्यक्रममा घोराही उपमहानगरपालिकामा कार्यरत सरसफाइ कर्मचारी सीतापति चौधरी, अटोचालक यमराज खनाल, शान्तिराम बुढा, कृषक बुद्धिराम चौधरी र कार्यालय सहयोगी रामसिंह चौधरीलाई नगद राशी तथा खादा ओढाई सम्मान गरिएको थियाे ।
महासङ्घका अध्यक्ष खिमबहादुर डाँगीको अध्यक्षता एवम् नेकपा (एमाले) दाङका अध्यक्ष शिवकुमार आचार्यकाे प्रमुख आतिथ्यता तथा नेकपा एमालेका जिल्ला उपाध्यक्ष तथा जनसंगठन विभाग प्रमुख मनोहर बुढाथोकी र पेशागत महासंघ नेपाल केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष उद्दव न्यौपानेकाे विशिष्ट आतिथ्यतामा भएकाे कार्यक्रममा बोल्ने वक्ताहरूले श्रम संस्कृतिको विकास नहुँदासम्म देशमा दिगो विकास सम्भव नरहेको तर्क गर्दै पाखुरीको बलमा श्रम गर्ने श्रमिकहरूको योगदानलाई मूल्याङ्कन गर्नुपर्नेमा जोड दिएका थिए ।
उनीहरूले श्रमिकका उत्पादन प्रयोग गर्न चाहने तर उनीहरूको सम्मान नगर्ने प्रवृत्तिका कारण आजका युवाहरू विदेशिन बाध्य भएको बताएका थिए ।
महासङ्घका उपाध्यक्ष लालमणि खड्काको स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सहजीकरण जिल्ला सचिव ठाकुर खनानले गरेका थिए ।








