कक्षा १२ को परीक्षा वैशाख २१ देखि नियमित सञ्चालन हुने -परीक्षा बोर्डको स्पष्टता
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को माध्यामिक शिक्षा उत्र्तीण परीक्षा (एसईई) यही वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म तोकिएकै मितिमा नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ ।
बोर्डले सामाजिक सञ्जालमा फैलिरहेका भ्रामक सूचनाप्रति आपत्ति जनाउँदै परीक्षासम्बन्धी आधिकारिक जानकारी बोर्डको वेबसाइटमार्फत मात्र प्राप्त गर्न विद्यार्थी, अभिभावक र सरोकारवाला सबैलाई आग्रह गरेको छ ।
यसअघि परीक्षा वैशाख ११ गतेदेखि सञ्चालन हुने कार्यतालिका जारी गरिए पनि नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण मिति सारिएको थियो ।
पछिल्लो समयमा महासङ्घसँग सहमति भएपछि तोकिएको केन्द्रहरूमा परीक्षा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ ।
बोर्डले सामाजिक सञ्जालमा अनधिकृत रूपमा आफ्नो लोगो प्रयोग गरेर भ्रम सिर्जना गर्ने प्रयासप्रति आपत्ति जनाउँदै कुनै पनि भ्रामक प्रचारप्रसारमा नफसिन पुनः आग्रह गरेको छ ।
साथै, बोर्डले आफ्नो कुनै आधिकारिक फेसबुक पेज नरहेको र सबै सूचना www.neb.gov.np वेबसाइटमार्फत मात्र सार्वजनिक गरिने स्पष्ट पारेको छ ।
परीक्षा सञ्चालनका लागि बाँकी तयारीहरू पूर्ण भइसकेको भन्दै बोर्डले सबै परीक्षा केन्द्राध्यक्ष, शिक्षक, कर्मचारी, सुरक्षाकर्मी, अभिभावक, सञ्चारकर्मी तथा सरोकारवाला निकायलाई मर्यादित र व्यवस्थित तवरले परीक्षा सम्पन्न गराउन सहयोग पुर्याउन सूचनामार्फत अनुरोध गरेको छ ।
यस वर्ष देशभरका हजारौं विद्यार्थीहरूले सहभागी हुने परीक्षा शान्तिपूर्ण, पारदर्शी र निष्पक्ष रूपमा सञ्चालन गर्ने बोर्डको तयारी रहेको छ ।








