विनयी खोलामा डाइभर्सन बगाउँदा नारायणघाट–बुटवल सडक खण्ड पूर्णरूपमा अवरुद्ध
दाङ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक खण्डको दुम्कीबासस्थित विनयी खोलामा आज बिहान आएको बाढीले डाइभर्सन बगाउँदा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार खोलामा निर्माण गरिएको अस्थायी डाइभर्सन बाढीले बगाएपछि सवारीसाधनको नियमित आवागमन ठप्प भएको हो । यसअघि विनयी खोलाको मूल पुल क्षति पुगेपछि वैकल्पिक रूपमा डाइभर्सन निर्माण गरिएको थियो ।
प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालका अनुसार मालवाहक र ठूला सवारीसाधनहरू हाल होङ्सी गेट र अरुणखोला क्षेत्रमा रोकिएका छन् । यात्रुवाहक र साना सवारीसाधनलाई भने वैकल्पिक मार्ग प्रयोग गरी गन्तव्यतर्फ पठाइएको जानकारी दिइएको छ ।
अवरुद्ध सडक पुनः सञ्चालनमा ल्याउन केही समय लाग्ने अनुमान गरिएको छ। यतिबेला सडक खुलाउन सम्बन्धित निकायले प्रयास थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक व्यवस्था अपनाउन र सतर्क रहन आग्रह गरिएको छ ।








