२९ मंसिर २०८२, सोमबार

नीति तथा कार्यक्रम सन्तुलित र प्राथमिकीकृतः सांसद भट्टराई

प्रकाशित मिति :  2 May, 2025 9:13 pm


काठमाडौँ । नेकपा (एमाले) का सांसद योगेश भट्टराईले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सन्तुलित भएको प्रतिक्रिया दिएका छन्।

शुक्रबार संघीय संसद्को संयुक्त बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यो वर्षको नीति तथा कार्यक्रम विगतको तुलनामा प्राथमिकिकृत र उद्देश्यकेन्द्रित रहेको बताए।

‘‘यसपटकको नीति कार्यक्रम अलि सन्तुलित छ। अलिकति कम्प्रिहेन्सिभ ढंगले आएको छ,’‘ भट्टराईले भने, ‘‘विगतमा छरपस्ट रुपमा आउँथे, यसपटक प्राथमिकिकरण गरेर छोटो, स्फुर्तिलो र उद्देश्यअनुरूप बनाइएको छ।’‘

उनले नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका क्षेत्रमा उल्लेख्य प्राथमिकता दिइएको स्पष्ट पारे । उनले प्लस टु उत्तीर्ण विद्यार्थीलाई आत्मनिर्भर बनाउन व्यावसायिक र प्राविधिक शिक्षाको विकास, स्वरोजगारको सम्भावना र बीमा कार्यक्रममार्फत सर्वसुलभ स्वास्थ्य सेवा विस्तारमा जोड दिइएको उल्लेख गरे ।

‘‘स्वास्थ्य सेवालाई आम जनतामा पुर्‍याउन बीमा कार्यक्रमलाई बलियो बनाइएको छ। कतिपय ठूला रोगहरूको निःशुल्क उपचारबारे पनि उल्लेख छ,’‘ उनले भने।

पूर्वाधार विकासमा विगतका कार्यअनुभवका आधारमा सुधार ल्याइएको भन्दै उनले राष्ट्रिय गौरवका आयोजना प्राथमिकतामा परेका बताए। ‘‘२५–२६ वटा राष्ट्रिय गौरवका आयोजनालाई सूत्रबद्ध गर्ने प्रयास गरिएको छ,‘’ भट्टराईको भनाइ छ।

उनले विगतका सरकारबाट थालिएका केही कार्यक्रमको निरन्तरताका कारण नीति तथा कार्यक्रम परम्परागत जस्तो देखिए पनि त्यसमा सन्तुलन र दिगो सोच समेटिएको दाबी गरे । नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेका थिए।



प्रतिक्रिया दिनुहोस !