२० मंसिर २०८२, शनिबार

प्रधानमन्त्री ओलीको निर्देशन-संसदमा गलत कुरा उठे तत्काल प्रतिवाद गर्नुस्

प्रकाशित मिति :  3 May, 2025 8:00 pm


काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूलाई संसदमा आफ्नो प्रस्तुति प्रभावकारी बनाउने गरी तयार भएर आउन निर्देशन दिएका छन् ।

शनिबार बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले सांसदहरूले संसदभित्र पार्टीको नीति र कार्यदिशालाई आत्मसात् गर्दै जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्नेमा जोड दिए ।

‘‘सरकारले ल्याएको नीति तथा कार्यक्रम सही छ, यो विकास र समृद्धिमा केन्द्रित छ,’‘ प्रधानमन्त्री ओलीले बैठकमा भने, ‘‘विपक्षीले गलत नियतले बोलेमा तत्काल प्रतिवाद गर्नुपर्ने हुन्छ । त्यसका लागि तयारीसहित आउनुहोस् ।’‘

प्रधानमन्त्री ओलीले संसदमा बोल्ने सांसदहरूले बुँदागत रुपमा तयारी गर्नुपर्ने बताएका छन् । ‘‘प्वाइन्ट लेखेर ल्याउनुहोस्, ताकि कुरा छुटोस् भनेर नभुलियोस् । लेखेको कुरा स्पष्टतासाथ व्याख्या गर्न सक्ने हुनुपर्छ,’‘ उनले भने, ‘‘सिङ्गै वक्तव्य लेखेर ल्याए पनि हुन्छ, तर प्रतिपक्षले उठाउने प्रश्नको तत्काल जवाफ दिन सकिने गरी आफूलाई तयार राख्नुपर्छ ।‘’

बैठकमा ओलीले पार्टीको अनुशासन र मर्यादा कायम राख्दै सांसदहरूलाई गम्भीर र तथ्यगत बहसमा उत्रन आग्रह गरेका थिए । उनले थपे, ‘‘गलत कुरा उठेको छ भने सांसदहरूले त्यसको प्रतिवाद गर्नैपर्छ । त्यस ढंगले आफूलाई प्रस्तुत गरेर आउन म आग्रह गर्न चाहन्छु ।‘’

सरकारले शुक्रबार संसदको संयुक्त बैठकमार्फत आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ । उक्त दस्तावेजमा संशोधन दर्ता गर्न ७२ घण्टाको समय दिइएको छ ।

नीति तथा कार्यक्रम सार्वजनिक भएसँगै संसदभित्र र बाहिर त्यसका बारेमा मिश्रित प्रतिक्रिया आउन थालेका छन् । सत्ता पक्षले दस्तावेजलाई ‘उत्पादकशीलता र पूर्वाधारमुखी’ भनेको छ भने विपक्षी दलहरूले ‘कायमको अवस्थालाई सिंगार्ने दस्तावेज’ भन्दै आलोचना गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !