२० मंसिर २०८२, शनिबार

आजदेखि कक्षा १२ को परीक्षा सुरु

प्रकाशित मिति :  4 May, 2025 8:29 am


दाङ । आजदेखि कक्षा १२ को परीक्षा सुरु भएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले बिहान ८ बजेदेखि परीक्षा सुरु भएकाे जनाएकाे छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा व्यवस्थापनमा कुनै कमी नरहेको उल्लेख गरेका छन् ।

देशभरका १,५९१ परीक्षा केन्द्रहरूबाट परीक्षा सुरु भएको हो, जसमा १,५९० नेपालका विभिन्न जिल्लामा र १ जापानमा रहेको बोर्डले जनाएको छ । काठमाडौँमा सबैभन्दा धेरै १६२ परीक्षा केन्द्र कायम गरिएको छ भने मनाङ र मुस्ताङमा एक–एक मात्र केन्द्र रहेका छन् ।

परीक्षामा देशभरबाट कुल ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी भएका छन्। तीमध्ये नियमिततर्फ १ लाख ९८ हजार ८७५ छात्र र १ लाख ९७ हजार १३ छात्रा गरी ३ लाख ९५ हजार ९०८ परीक्षार्थी छन् । आंशिकतर्फका परीक्षार्थीको संख्या १ लाख १५ हजार ६१७ रहेको छ ।

सबैभन्दा धेरै परीक्षार्थी काठमाडौँबाट सहभागी भएका छन्, जसको संख्या ६८ हजार १३३ छ भने सबैभन्दा कम परीक्षार्थी मनाङबाट ४५ जना छन् ।

परीक्षा सफल बनाउन करिब २ हजार कर्मचारी, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, प्रत्येक केन्द्रमा एक कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

दृष्टिविहीन, श्रवणशक्ति कमजोर, सुस्त मनस्थिति र अन्य प्रकृतिका अपाङ्गता भएका परीक्षार्थीका लागि विशेष परीक्षा व्यवस्था गरिएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । त्यसैगरी, कारागार र बाल सुधारगृहमा रहेका परीक्षार्थीका लागि पनि छुट्टै व्यवस्था मिलाइएको छ ।

परीक्षा केन्द्रमा बिना अनुमति प्रवेश गर्न कसैलाई पनि नदिइने र अनुशासन उल्लङ्घन गर्ने केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष वा निरीक्षकलाई तत्काल हटाउन सकिने व्यवस्था गरिएको छ ।

परीक्षा अवधिभर केन्द्राध्यक्षबाहेक अन्य कसैलाई मोबाइल फोन लैजान पूर्ण निषेध गरिएको छ । परीक्षार्थीले मोबाइल, स्मार्ट घडी, अन्य विद्युतीय उपकरण (लोडेड डकुमेन्ट नभएको क्याल्कुलेटरबाहेक) प्रयोग गर्न पाउने छैनन् ।

परीक्षा मर्यादा भङ्ग गरेमा शिक्षा ऐन, २०२८ को दफा १७ (१ क) ‘च’ अनुसार कानुनी कारबाही गरिने बोर्डले स्पष्ट पारेको छ।आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा, उर्दू व्याकरण विषयको परीक्षा सञ्चालन भइरहेको छ ।

नियमित र आंशिक परीक्षार्थीका लागि रजिस्ट्रेशन नम्बरका सुरुका दुई अङ्क ७८, ७९, ८० र ८१ तथा प्राविधिक धाराका परीक्षार्थीका लागि ७९, ८०, ८१ हुनेहरू परीक्षा दिइरहेका छन् ।

परीक्षालाई मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गराउन परीक्षा नियन्त्रकको कार्यालय, जिल्ला परीक्षा समन्वय समिति र सुरक्षाकर्मीहरू सक्रिय रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !