नीलगाई मारेको आरोपमा कपिलवस्तुमा एक जना पक्राउ, अन्य फरार
कपिलवस्तु । महाराजगन्ज नगरपालिका–६, सानो बुटहनीया गाउँस्थित उखुबारीमा शनिबार राति नीलगाई मारेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवराज नगरपालिका–२, हरहवा निवासी ५२ वर्षीय फरहान खान रहेका छन् ।
शनिबार राति १ बजे तिर गोली पड्किएको आवाज सुनेपछि स्थानीय बासिन्दाले खबर गरेपछि उदयपुर प्रहरी चौकीबाट खटिएको टोली घटनास्थलमा पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख उपरीक्षक निरञ्जन भट्टका अनुसार घटनास्थलमा दुई वटा नीलगाई मरेको अवस्थामा फेला परेका थिए । घटनास्थलबाट ६ राउन्ड गोली, ४ वटा गोलीका खोका तथा सवारीसाधनहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट बा १७ च ८९० नम्बरको हाइलक्स गाडी, यूपी ३२ एके ३६३० नम्बरको मारुती भ्यान, लु ५० प ४१२ र यूपी ५५ आर ६१६७ नम्बरका दुई मोटरसाइकल पनि बरामद गरेको छ ।
प्रहरीका अनुसार सिकारमा संलग्न १०–१२ जना भागेका छन्। फरार अभियुक्तहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका फरहान खानलाई आवश्यक कानुनी कारबाहीका लागि गौतमबुद्ध डिभिजन वन कार्यालय, चन्द्रौटामा बुझाइएको छ ।
नीलगाई संरक्षित वन्यजन्तु भएकाले यसको हत्या वन ऐनअनुसार गम्भीर अपराधमा पर्छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।








