२१ मंसिर २०८२, आइतबार

नीति तथा कार्यक्रममाथि बहस आरम्भ : सङ्घीय संसद्मा छलफलले तात्दैछ वातावरण

प्रकाशित मिति :  5 May, 2025 9:55 am


फाइल फाेटाे।


काठमाडौँ । सङ्घीय संसद्को चालु सत्र अब औपचारिक छलफलको मोडमा प्रवेश गरिसकेको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठकमा आजबाट सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममाथि गम्भीर बहस प्रारम्भ हुँदैछ।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यक्रम रहेको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वैशाख १९ गते प्रस्तुत गरिएको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको छ।

राष्ट्रियसभामा पहिल्यै बहसको आरम्भ

यसअघि नै राष्ट्रियसभाले आइतबारबाट छलफल प्रारम्भ गरिसकेको छ । आज दिउँसो १:१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा पनि नीति तथा कार्यक्रममाथि निरन्तर छलफल हुने कार्यक्रम रहेको छ ।

सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिदै भने, “दुवै सदनमा राष्ट्रपति ज्यूले संयुक्त अधिवेशनमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि अब औपचारिक बहस हुँदैछ। सांसदहरूले दर्ता गरेका संशोधनहरू र उठाएका जिज्ञासालाई समेट्दै छलफललाई अगाडि बढाइनेछ ।”

केन्द्रमा छ सरकारको उद्देश्य र कार्ययोजना

राष्ट्रपतिले प्रस्तुत गर्नुभएको वार्षिक नीति तथा कार्यक्रममा आर्थिक सुधार, पूर्वाधार निर्माण, ऊर्जा तथा रोजगारी सिर्जनामा केन्द्रित रणनीति समावेश गरिएका छन् ।

यसले निजी क्षेत्र, ऊर्जा क्षेत्र, सूचना प्रविधि र पर्यटनमा व्यापक लगानी भित्र्याउने सरकारको योजना उजागर गरेको छ। अब संसद्मा ती योजनामाथि गहिरो बहसको सुरुवात हुन गइरहेको छ ।

संसद्को यो छलफल राजनीतिक समिकरणको परीक्षण मात्र होइन, सरकारको नीति दृष्टिकोणप्रति जनप्रतिनिधिहरूको धारणा प्रकट गर्ने प्रमुख अवसर पनि हो ।

सरकारले ल्याएको नीति तथा कार्यक्रमले आर्थिक सन्तुलन र समृद्धिको आशा बोकेको छ तर ती योजनाहरूलाई वास्तविकतामा रुपान्तरण गर्न संसद्को सक्रिय छलफल र जिम्मेवार कार्यान्वयन आवश्यक देखिन्छ।



प्रतिक्रिया दिनुहोस !