४ जेष्ठ २०८२, आइतबार

‘हरियो सुन’ मा रमाउँदै दाङका किसानहरु : बर्सिम घाँसखेतीबाट लाखौँको आम्दानी

हरियोमा पशुलाई खुवाउन मिल्ने र सुक्दा बीउ नगदमा बिक्ने हुँदा किसानहरूको आकर्षण यसतर्फ बढेको छ
प्रकाशित मिति :  6 May, 2025 8:14 am


दाङ । दाङको घोराही उपमहानगरपालिका–६ का किसान मिकसर चौधरी बिहान खेतमा निस्कँदा अब हरियो घाँस खोज्न वनतिर धाउनु पर्दैन। आफ्नै खेतमा हराभरा उब्जिएको बर्सिम घाँस काटेर दुई भैँसी र आठ भेँडालाई खुवाउँदा उनलाई समय पनि बच्ने र आम्दानी पनि हुने भएको छ ।

चौधरीले २२ कट्ठा जमिनमा बर्सिम घाँसखेती गर्दै आएका छन् । कात्तिकदेखि वैशाखसम्म खेतमा हरियो घाँस उम्रँदा उनी दूध उत्पादनमा पनि सन्तुष्ट छन् ।

“पछिल्लो वर्षमै दुई लाख रुपैयाँको बीउ बिक्री गरें, यो वर्ष त अझ दानै धेरै लागेको छ, आम्दानी बढ्छ जस्तो लाग्छ,” चौधरीले सुनाए ।

बर्सिम घाँसलाई ‘ग्रिन गोल्ड’ अर्थात् हरियो सुन भन्ने गरिएको छ । हरियो अवस्थामा पशुलाई खुवाउन मिल्ने, सुकेको अवस्थामा पनि उपयोगी हुने र बीउ नगदमा बेच्न पाइने भएकाले किसानहरूको आकर्षण यसतर्फ झनै बढेको छ ।

यसै क्षेत्रका अर्का किसान प्रेम चौधरीले पनि १९ कट्ठा खेतमा बर्सिम घाँस लगाएका छन् । तीन भैँसी, एक गाई र छ बाख्रा पालेका उनले गत वर्ष ९० हजार रुपैयाँको बीउ बिक्री गरेका थिए । “यो वर्ष त एक लाखभन्दा बढीको बिक्री हुने देखिन्छ,” उनले बताए।

उनका अनुसार हिउँदमा हरियो घाँस खाएका भैँसीले दूध उत्पादन पनि बढाएका छन् । “धान भित्र्याएपछि मसुरो छरे जस्तै गरेर घाँसको बीउ छरिन्छ, खेती सजिलो छ,” प्रेमले थपे ।

घोराही–५, ६, ७, ८ र १७ वडाका कृषकहरू १५ देखि २५ कट्ठासम्मको जग्गामा घाँसखेती गरिरहेका छन्। घाँस बीउ उत्पादक संघका सचिव विमल अधिकारीका अनुसार यो खेतीले अन्य परम्परागत बालीनिजस्तै लाभ दिँदैन, बरु दोहोरो फाइदा दिन्छ ।

“घाँस खुवाएर पशु पालेको लाभ त हुन्छ नै, बीउ बिक्री गरेर नगद आम्दानी पनि हुन्छ,” उनले भने, “गाउँका धेरै किसानहरू त अब मुख्य आम्दानी यही घाँसखेतीबाट गर्छन् ।”

घोराही–६ को गुरुवागाउँ, गुरगै, जजरागाउँ, बेरुवागाउँ, बेरगै, फचकपुर र अघरा तथा घोराही–१७ को कर्जाही र गैरागाउँका किसानहरूले विगत १० वर्षदेखि निरन्तर रूपमा बर्सिम खेती गर्दै आएका छन् ।

घाँसको दाना मात्रै बिक्री गरेर केही किसानले गत वर्ष २ लाख ९० हजारदेखि ३ लाख रुपैयाँसम्म कमाएका छन्। पशुपालनमा घाँसकै भरमा आत्मनिर्भर बन्दै गरेका यी किसानलाई ‘हरियो सुन’ को खेतीले आर्थिक रूपमै बलियो बनाइरहेको छ।

बर्सिम घाँसले दाङका किसानहरूलाई सशक्त बनाएको उदाहरण गाउँ–गाउँमा देखिन थालेको छ। अहिले यो खेती दाङका अधिकांश पालिकामा विस्तार हुँदै गएको अधिकारीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !