२० मंसिर २०८२, शनिबार

धनकुटामा बस दुर्घटना हुँदा ३ जनाकाे मृत्यु

प्रकाशित मिति :  6 May, 2025 11:33 am



काठमाडाैँ । धरानबाट धनकुटा हुँदै भोजपुरतर्फ जाँदै गरेको को १ ख २१७७ नम्बरको यात्रुबाहक बस सोमबार धनकुटा नगरपालिका–६ स्थित औद्योगिक ग्राम नजिक दुर्घटना हुँदा तीन जनाकाे मृत्यु भएकाे छ।

दुर्घटनामा गम्भीर घाइते भएकी धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी भुजेलको उपचारका क्रममा धनकुटा अस्पतालमा मृत्यु भएको छ । त्यसैगरी, बस चालक सुनसरी धरान उपमहानगरपालिका–१३ निवासी ५१ वर्षीय रुद्र तामाङको पनि सोमबार बेलुका मृत्यु भएको थियो।

घटनामा गम्भीर घाइते भएका भोजपुर षडानन्द नगरपालिका–१३ का ५८ वर्षीय लीलाबहादुर श्रेष्ठको आज बिहान धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

दुर्घटनामा अन्य १४ जना यात्रुहरू घाइते भएका छन्। तीमध्ये दुई जनाको धनकुटामा, एक जनाको विराटनगरस्थित नोबेल अस्पतालमा र बाँकीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइतेहरूमा षडानन्द नगरपालिका–१३ का सूर्यमणि तामाङ र अनमोल तामाङ, बराहक्षेत्र–२ का कृष्ण राउत, पौवादुङमा गाउँपालिका–३ का गङ्गाप्रसाद सापकोटा, भोजपुर नगरपालिका–११ की सविना बराइली र देवी विक, साँगुरीगढी गाउँपालिका–६ का हंशबहादुर राई, पूर्णमाया तामाङ, दीर्घमाया राई, इटहरीका आयुष राई, र धनकुटा–६ का धनकुमार बिक रहेका छन्।

बसको ब्रेक फेल भएको प्रारम्भिक अनुमान गरिए पनि दुर्घटनाको यथार्थ कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !