सरकार दशाैँ महिनामै फेरिँदैन, तीन–चार दशाैँ महिना अझै बित्नेछ-गृहमन्त्री लेखक
ललितपुर । गृहमन्त्री रमेश लेखकले हालको सरकार नेपाली काँग्रेस र नेकपा एमालेबीच भएको राजनीतिक सहमतिअनुसार नै अघि बढिरहेको स्पष्ट पारेका छन् ।
बिहीबार ललितपुरमा आयोजित ‘दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा हालसम्मको प्रगति र आगामी कार्यदिशा’ विषयक कार्यक्रममा बोल्दै उनले पछिल्लो १० महिनाको अवधि सरकारको स्थिरताको प्रतीक बनेको दाबी गरे ।
१० महिना धेरै होइन, अझै अरू दसैँ महिना बित्नेछ
गृहमन्त्री लेखकले आफू १० महिनाअघि गृहमन्त्री नियुक्त भएको स्मरण गर्दै विगतमा १० महिनामा सरकार फेरिने परिपाटी रहे पनि अहिलेको सरकार स्थायीतर्फ उन्मुख रहेको बताए ।
“पहिला–पहिला १० महिनामै सरकार परिवर्तन हुने गर्थ्यो । त्यही १० महिना नै एउटा सरकारको कार्यकालजस्तो लाग्थ्यो। अहिलेको सरकार दसैँ महिनामा फेरिँदैन । यस्ता १० महिना हामी अझै तीन–चार पटक व्यहोर्छौं”, उनले भने ।
संक्रमणकालीन न्याय सम्बन्धी कानून पूर्णता पाएको मन्त्रीको दाबी
गृहमन्त्री लेखकले संक्रमणकालीन न्यायका विषयमा विगतमा कानूनी अपूर्णताका कारण काम रोकिएको उल्लेख गर्दै हालको सरकारले कानूनलाई पूर्णता दिइसकेको जानकारी दिए ।
“९ महिनायता हामीले संक्रमणकालीन न्यायसम्बन्धी कानूनी ढाँचा पूर्ण गरेका छौँ । त्यसका आधारमा अब काम अघि बढाउन कुनै विधिक अवरोध छैन”, उनले भने । उनले संक्रमणकालीन न्यायलाई संवैधानिक र मानव अधिकारको मूल मर्मअनुरूप अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे ।
कार्यक्रम राष्ट्रिय मानव अधिकार आयोग, द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल र द स्टोरी किचेनको सहकार्यमा आयोजना गरिएको हो । कार्यक्रममा दोस्रो राष्ट्रिय कार्ययोजना (NAP-II) को कार्यान्वयन, प्रगति र आगामी योजनाबारे बहस तथा सुझाव प्रस्तुत गरिएका थिए ।
गृहमन्त्री लेखकको अभिव्यक्तिले वर्तमान सरकारको राजनीतिक सहमति, कानूनी सुधार र संक्रमणकालीन न्यायप्रतिको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको देखिन्छ । सरकारको स्थायित्वप्रति विश्वास दिलाउँदै उनले “हामी अझै केही दशाैँ महिना पार गर्छौं”, भन्ने आशयले राजनीतिक स्थायित्वको सन्देश दिन खोज्नुभएको बुझिन्छ।








