लुम्बिनी प्रदेशकाे पूर्वाधार विकासमा स्विस निरन्तरताको प्रतिबद्धता

दाङ । नेपालका लागि स्विट्जरल्यान्डका राजदूत ड्यानिएल मेउलीले लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालसँग मन्त्रालयमा शिष्टाचार भेट गरेकी छिन् ।
भेटका क्रममा लुम्बिनी प्रदेशका सडक तथा पुल निर्माणमा स्विट्जरल्यान्ड सरकारले प्रदान गर्दै आएको प्राविधिक सहयोगका विषयमा विस्तृत छलफल भएको मन्त्री ढकालको सचिवालयले जानकारी दिएको छ । मन्त्री ढकालले स्विस सरकारद्वारा विगतमा गरिएको सहयोगप्रति आभार प्रकट गर्दै उक्त सहयोगलाई निरन्तरता दिन आग्रह गरेका छन् ।
राजदूत मेउलीले लुम्बिनी प्रदेशमा स्विट्जरल्यान्ड सरकारको विकास साझेदारी आगामी दिनमा पनि सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै सहयोग निरन्तर रहने संकेत दिएको मन्त्रीका स्वकीय सचिव प्रकाश भुसालले जानकारी दिए ।
स्विट्जरल्यान्ड सरकारद्वारा सन् २०११ देखि प्रादेशिक सडक तथा पुल सहयोग इकाई (PRBSU) मार्फत प्रदेशभर सडक र पुल निर्माणमा प्राविधिक सहयोग प्रदान गर्दै आएको यातायात पूर्वाधार निर्देशनालय, रुपन्देहीका इञ्जिनियर अरुण गुप्ताले बताए । उनका अनुसार हाल सञ्चालनमा रहेको कार्यक्रम चालु आर्थिक वर्षको अन्त्यसम्म, अर्थात् असार मसान्तमा समाप्त हुने तयारीमा छ।
प्रदेश सरकार र स्विस सहयोगबीचको सहकार्यबाट भौतिक पूर्वाधार क्षेत्रमा उल्लेखनीय प्रगति भएको जनाउँदै मन्त्री ढकालले आगामी योजनाहरूमा समेत साझेदारी विस्तारको अपेक्षा व्यक्त गरेका थिए ।