राजा खोजेर समय बर्बाद नगर्न बाँस्कोटाको सुझाव : “समाज अब पछाडि फर्कँदैन”

काठमाडौँ । नेकपा (एमाले) का सांसद गोकुल बाँस्कोटाले राजसंस्थाको पुनःस्थापनाको वकालत गर्दै आन्दोलनरत दलहरूलाई लोकतान्त्रिक प्रक्रियामार्फत अघि बढ्न सुझाव दिएका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि भएको छलफलमा भाग लिँदै सांसद बाँस्कोटाले राजसंस्थाको पुनरागमन असम्भव भएको स्पष्ट पार्दै ‘राजा खोज्ने’ कार्यलाई समयको बर्बादी भनेका छन् ।
उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जस्ता दलहरूलाई जनमतकै माध्यमबाट प्रतिस्पर्धा गर्न आग्रह गर्दै भने, “यहाँबाट तपाईंको दुई तिहाई पुग्दैन होला । अर्को निर्वाचनमा बहुमत ल्याउने कोशिस गर्नुस्, तर आन्दोलन गरेर व्यवस्था परिवर्तन गर्ने कल्पना नगर्नुहोस् ।”
राजसंस्थाका पक्षधरहरूलाई कटाक्ष गर्दै बाँस्कोटाले भने, “तासका बुङका राजा–रानी खोजेर अब जीन्दगी गुजार्नुस् । राजा–राजा भनेको छ, अब त निद्रा पनि नपर्लाजस्तो भइसक्यो। आउँदैन त्यो, यो पनि समयको बर्बादी हो ।”
उनले लोकतन्त्रको विकल्प नभएको उल्लेख गर्दै समाज अब पछाडि फर्कन नसक्ने धारणा राखे । “समाज एकपटक अघि बढेपछि फेरि पछाडि फर्कँदैन । लोकतान्त्रिक मूल्य, विधि र प्रक्रियामै अघि बढ्नुपर्छ,” उनले भने ।
त्यसैगरी बाँस्कोटाले सरकारको आगामी नीति तथा कार्यक्रमको स्वागत गर्दै समग्र देशको समावेशी र दिगो विकासका लागि नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याए ।