४ जेष्ठ २०८२, आइतबार

न्यायमा सहज पहुँचका लागि प्रविधिको प्रयोग गर्नुपर्ने राष्ट्रपति पौडेलको जोड

प्रकाशित मिति :  9 May, 2025 4:15 pm


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक पद्धति र प्रविधिको उपयोगमार्फत आम नागरिकको न्यायमा सहज पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित ७३औँ कानुन दिवस समारोहलाई सम्बोधन गर्दै राष्ट्रपतिले नेपालको संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनलाई सुदृढ गर्दै जनआस्था बढाउने दिशामा न्याय प्रणालीले निर्णायक भूमिका निर्वाह गर्नुपर्ने बताए ।

उनले भने, “नयाँ कानून निर्माण र प्रचलित कानूनको समसामयिक सुधारसँगै प्रविधिको प्रभावकारी प्रयोग गरी मुद्दाको शीघ्र व्यवस्थापन र छरितो न्याय सम्पादन गर्नुपर्छ। यसले नागरिकको न्यायमा पहुँच सहज बनाउनेछ ।”

राष्ट्रपति पौडेलले नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक तथा मानव अधिकार, स्वतन्त्र र निष्पक्ष न्यायपालिकालगायत कानुनी राज्यका अवधारणालाई आत्मसात् गरेको उल्लेख गरे ।

यस्ता मूल्य र मान्यताप्रति पूर्ण प्रतिबद्धता जनाउँदै उनले न्यायिक मूल्यमा क्षय हुन नदिनु र त्यसको संरक्षण एवं प्रवर्द्धन गर्नु सबैको सामूहिक जिम्मेवारी रहेको धारणा राखे ।

“कानुन दिवसले न्याय र कानुन क्षेत्रसँग जोडिएका सबै व्यक्तिहरूमा उत्तरदायित्वको बोध गराउँदै सकारात्मक सोच, हौसला र प्रेरणा प्रदान गरोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु,” राष्ट्रपति पौडेलको भनाइ थियो ।

कार्यक्रममा न्याय प्रशासन, कानुन व्यवसायी, उच्चपदस्थ कर्मचारी र नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !