त्रिभुवननगर जेसीजको ४० औं स्थापना दिवस मनाइने

दाङ । सामाजिक सेवा, नेतृत्व विकास र युवा सशक्तिकरणमा लामो समयदेखि क्रियाशील त्रिभुवननगर जेसीजले आफ्नो ४० औं स्थापना दिवस मनाउने भएको छ । आगामी जेठ २ गते जेसीज सचिवालय भवन घोराहीमा विशेष समाराेहका बिच स्थापना दिवस मनाउन लागेकाे अध्यक्ष टङ्कबहादुर रावतले जानकारी दिए ।
स्थापना दिवसको अवसरमा संस्थाको स्थापनामा योगदान पुर्याएका संस्थापक सदस्यहरूलाई विशेष सम्मान गरिने अध्यक्ष रावतले जानकारी दिए ।
कार्यक्रममा विविध सांस्कृतिक एवं प्रेरणादायी गतिविधि पनि सञ्चालन गरिने कार्यक्रम संयोजक मिनराज भाटले जानकारी दिए । उनका अनुसार कार्यक्रममा त्रिभुवननगर जेसीजका पूर्व अध्यक्ष मुकुन्दप्रसाद रञ्जितकारकी जीवन सङ्गिनी मालती रञ्जितकारद्वारा स्थापना गरिएको माध्यमिक विद्यालयस्तरीय ‘दुर्गा नारायण वक्तृत्वकला प्रतियोगिता’ पनि आयोजना गरिनेछ।
प्रतियोगिताको छनौट चरण जेठ १ गते बिहान ११ बजे सचिवालयमै हुने भन्दै भाटले छनाैट भएका उत्कृष्ट ७ प्रतिस्पर्धीहरूले जेठ २ गतेको फाइनल चरणमा सहभागिता जनाउनेछन्।
प्रतियोगितामा सहभागी विद्यालयहरूमध्ये उत्कृष्ट विद्यालयलाई रनिङ शिल्ड र सर्वोत्कृष्ट वक्तालाई ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिने महासचिव कृष्णदेव थापाले जानकारी दिए । उनका अनुसार दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पनि प्रमाणपत्रसहित नगद पुरस्कार दिइनेछ ।
कार्यक्रममा विभिन्न विद्यालयका प्रतिनिधि, सामाजिक संघसंस्थाका पदाधिकारी, जेसीजका पूर्व अध्यक्षहरू तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको उपस्थिति रहने छ।
यसैबिच त्रिभुवननगर जेसीजका अध्यक्ष टंकबहादुर रावतले कार्यक्रममा सहभागीताका लागि सबैमा अनुराेध गरेका छन् । “यो कार्यक्रम संस्थाको चार दशक लामो योगदानको स्मरण मात्र होइन, आगामी पुस्तालाई मार्गदर्शन गर्ने महत्वपूर्ण अवसर पनि हो”, कार्यक्रममा सहभागीताका लागि अनुराेध गर्दै अध्यक्ष रावतले भने, “कार्यक्रममा सहभागी भएर हालसम्मका हाम्रा गतिविधिकाे समीक्षा गर्दै आगामी दिनका लागि हामीलाई मार्गनिर्देश गरिदिनका लागि अनुराेध गर्दछाैँ ।”