भारतद्वारा आतङ्कवादविरुद्ध ऐक्यबद्धताका लागि नेपाललाई धन्यवाद

काठमाडौँ । भारतले जम्मु–काश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलाको विरोधमा नेपाल सरकार, राजनीतिक दल, नागरिक समाज र सञ्चारमाध्यमले प्रकट गरेको ऐक्यबद्धता र समर्थनप्रति आभार प्रकट गरेको छ।
शुक्रबार काठमाडौँस्थित भारतीय राजदूतावासमा मुलधारका सञ्चार सम्पादकहरूसँगको छलफलमा भारतीय राजदूत नवीन श्रीवास्तवले आतङ्कबादको विरुद्ध समग्र विश्व एक हुनुपर्ने आवश्यकता औंल्याउँदै नेपालबाट प्राप्त ऐक्यबद्धतालाई उच्च सम्मानका साथ स्वीकार गरिएको बताए।
पाकिस्तानप्रति गम्भीर आरोप
राजदूत श्रीवास्तवले ‘द रेसिस्टेन्ट फोर्स (TRF)’ नामक पाकिस्तानी आतङ्ककारी समूहले गत २२ अप्रिलमा जम्मु–काश्मीरको पहलगाममा २६ निर्दोष सर्वसाधारणको ज्यान लिएको बताउँदै पछिल्ला घटनाक्रमहरू पाकिस्तान सरकारको नियोजित षड्यन्त्रको हिस्सा भएको दाबी गरे।
उनका अनुसार उक्त हमलापछि पनि पाकिस्तानले सीमा क्षेत्रमा ड्रोन तथा मिसाइल आक्रमण तीव्र बनाउँदै भारतीय चेकपोष्ट ध्वस्त पार्ने कार्य गरेको छ, जसबाट १६ भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ। यद्यपि भारतले संयमता अपनाउँदै सीमित जवाफी कारबाही मात्र गरेको स्पष्ट पारियो।
नेपालको भूमिकाप्रति प्रशंसा
राजदूत श्रीवास्तवले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटको जानकारी दिँदै, प्रधानमन्त्रीबाट प्राप्त ऐक्यबद्धता र नेपालको स्पष्ट प्रतिवद्धतालाई महत्वपूर्ण संकेतका रूपमा व्याख्या गरे। प्रधानमन्त्रीले कुनै पनि नेपाली भूमि आतङ्ककारी क्रियाकलापका लागि प्रयोग हुन नदिने दृढ प्रतिबद्धता व्यक्त गरेको उनले जानकारी दिए।
सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै राजदूतले नेपाली नागरिक समाज र मिडियाले आतंक विरोधी भावना प्रकट गर्नु उल्लेखनीय भएको बताए। साथै, भारतीय मिडियाले युद्धप्रवृत्तिका समाचार फैलाएको भ्रम नफैलाउन र आधिकारिक सूचनामार्फत यथार्थ बुझ्न आग्रह गरे।
सीमा सुरक्षा र आपूर्ति निरन्तरता
एक प्रश्नको जवाफमा उनले संवेदनशील भारतीय क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरिएको भए पनि नेपालतर्फको पेट्रोलियम र अन्य वस्तुको आपूर्तिमा कुनै असर नपर्ने विश्वास दिलाए। साथै, नेपाल–भारत सीमा क्षेत्रमा अवाञ्छित गतिविधि र घुसपैठ नियन्त्रणमा दुवै देशको सहयोग अपरिहार्य भएको बताए।
उनले चेतावनी दिए, “आतङ्कवाद भारत–पाकिस्तानको मात्र समस्या होइन, यो सम्पूर्ण सार्क क्षेत्र र विश्व शान्तिका लागि चुनौती हो।” त्यसैले अन्तर्राष्ट्रिय समुदाय एकजुट भई आतङ्कबादका विरुद्ध स्पष्ट धारणा लिनुपर्ने उनको भनाइ थियो।