तुलसीपुरमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको ज्यान गयो

दाङ । तुलसीपुर उपमहानगरपालिका–१८ धरमपुरस्थित अम्बाखोली सामुदायिक वनको कृत्रिम तालमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ।
शनिबार मध्याह्न साथीहरूसँग पौडी खेल्न गएका त्रिवेणी गाउँपालिका–९ सिस्नेरी स्थायी घर भई हाल तुलसीपुरमा अध्ययनरत १६ वर्षिय भूपेन्द्र बिकको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
प्रहरीका अनुसार भूपेन्द्र बिक अस्थायी रूपमा तुलसीपुरमै बसोबास गर्दै अध्ययनरत थिए । उनी सामुदायिक वनभित्र निर्माण गरिएको कृत्रिम तालमा साथीहरूसँग पौडी खेल्ने क्रममा अचानक डुबेका थिए । तत्काल उद्धार प्रयास भए पनि उनको ज्यान जोगाउन सकिएन ।
घटनापछि मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। स्थानीयवासी र सुरक्षाकर्मीले युवाहरुलाई यस्ता कृत्रिम जलाशयमा सावधानीपूर्वक जान आग्रह गरेका छन्।