राजाहरुले देश कंगाल बनाए-प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजाहरूले देशलाई कंगाल बनाएको आरोप लगाएका छन् । शनिबार राजधानीमा आयोजित दोस्रो राष्ट्रिय वन संवद्र्धन गोष्ठीलाई सम्बोधन गर्दै उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहको सन्दर्भ उल्लेख गर्दै कठोर टिप्पणी गरे ।
प्रधानमन्त्री ओलीले अचेल राजतन्त्रकालीन नेताहरू नै पुनः सत्ता प्राप्तिको प्रयासमा लागेको देख्दा अचम्म लागेको धारणा व्यक्त गरे । “देशलाई गरिबीको दलदलमा राख्नेहरूले अहिले हामी आउनैपर्छ, साथ देऊ भनेर माग गरिराखेको देख्दा लाज लाग्दैन,” उनले भने।
उनले राजतन्त्रको समयमा देश ‘जंगलमूलुक’जस्तो अवस्थाबाट अघि नबढेको दाबी गर्दै पछिल्ला ३० वर्षमा मुलुकमा उल्लेखनीय विकास भएको दाबी गरे ।
“अहिले त अक्सिजन नै अक्सिजन भएको पवित्र भूमि छ, यस्तो देशलाई फोक्सोको व्यापारीले चलाउने?” भन्ने टिप्पणी गर्दै ओलीले अप्रत्यक्ष रूपमा विदेशी लगानीकर्ताको आलोचना गरे ।
प्रधानमन्त्री ओलीले अहिलेको पुस्तालाई देशलाई शुद्ध, पवित्र र समुन्नत बनाउने जिम्मेवारी रहेको उल्लेख गरे । उनले “देश बनाउने हो, बस्न लायक बनाउने हो, विकासको बाटोमा अगाडि बढाउने हो,” भन्ने प्रतिबद्धता व्यक्त गरे ।
गोष्ठीमा प्रधानमन्त्री ओलीले वातावरणीय महत्व, हिमाल–पहाडको सौन्दर्य, र नेपालको प्राकृतिक समृद्धिको चर्चा गर्दै पूर्वसत्ताधारीहरूलाई पुनः जनताको अगाडि ल्याउने प्रयासप्रति कटाक्ष गरे । उनले देशको उपचार गर्ने पुस्ता अहिलेको पुस्ता भएको दाबी गर्दै युवा पुस्तालाई समर्पित भावका साथ सम्बोधन गरे । प्रधानमन्त्रीको यो अभिव्यक्तिले राजनीतिक वृतमा थप बहस चर्काउने सम्भावना देखिएको छ।