नीति तथा कार्यक्रममाथि सांसदहरूको जिज्ञासाको आज प्रधानमन्त्री ओलीले दिनेछन् जवाफ
काठमाडौँ । संघीय संसद्मा प्रस्तुत सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ आज प्रधानमन्त्री केपी शर्मा ओलीले दिने भएका छन्।
प्रतिनिधिसभाको आज बिहान ११ः०० बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिने सम्भावित कार्यसूची तय गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। त्यसयता वैशाख २२ गतेदेखि प्रतिनिधिसभामा उक्त दस्तावेजमाथि व्यापक बहस चलिरहेको छ।
सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार संसदमा नीति तथा कार्यक्रममाथि एकल र संयुक्त गरी हालसम्म कुल ३७ संशोधन प्रस्ताव दर्ता भइसकेका छन् । आजको बैठकमा ती संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिनेछ।
यसैबीच, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
प्रतिनिधिसभासँगै राष्ट्रियसभाको बैठक पनि आज दिउँसो १ः१५ बजेका लागि तय गरिएको छ । राष्ट्रियसभामा पनि नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका जिज्ञासाको जवाफ प्रधानमन्त्री ओलीले दिनेछन् । त्यसपछि राष्ट्रियसभामा पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलको प्रस्ताव पेश गरिनेछ ।
आजको बैठकहरूमा नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रिया अघि बढ्ने सम्भावना उच्च छ । संसदको आजको बहस र निर्णय आगामी बजेट निर्माणको दिशामा सरकारको प्राथमिकता निर्धारण गर्ने संकेतको रूपमा हेरिएको छ ।








