२१ मंसिर २०८२, आइतबार

२५६९औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस : प्रधानमन्त्री ओली लुम्बिनी आउँदै

प्रकाशित मिति :  11 May, 2025 9:50 am


दाङ । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा २५६९औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस भव्य रूपमा मनाउन तयारी पूरा भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र लुम्बिनी विकास कोषको संयुक्त आयोजनामा सुरु गरिएको त्रिदिवसीय समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आउन लागेका छन्।

लुम्बिनी विकास कोषले सोमबार आयोजना गर्न लागेको बुद्धजयन्ती तथा लुम्बिनी दिवस मूल समारोहमा प्रधानमन्त्री ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, संघीय र प्रदेश सरकारका मन्त्रीहरू, सांसदहरू, विभिन्न देशका राजदूतहरूलगायतको सहभागिता रहनेछ ।

त्रिदिवसीय कार्यक्रम : श्रद्धा, संस्कृति र शान्तिको उत्सव
कार्यक्रमको पूर्वसन्ध्यामा आइतबार साँझ मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ सुरु गरिएको छ। वैशाख २९ गते सोमबार बिहान ६ बजे भिक्षु, भिक्षुणी, लामा गुरुहरू तथा उपासक-उपासिकाको सहभागितामा प्रार्थना सभा हुनेछ।

त्यसपछि बिहान ७:३० बजे ५ नम्बर गेटबाट शोभायात्रा सुरु हुनेछ, जसले लुम्बिनीको शान्तिपूर्ण दर्शन परम्परालाई पुनः सजीव तुल्याउनेछ।

गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण तीनवटै घटना वैशाख शुक्ल पूर्णिमाका दिन परेको हुँदा यो दिन बौद्ध धर्मालम्बीहरूका लागि विशेष मानिन्छ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाका अनुसार बुद्धको जन्म ई.पू. ६२३ मा लुम्बिनीको पवित्र बगैँचामा भएको ऐतिहासिक मान्यता छ।

५६९ सदस्यीय मूल आयोजक समिति गठन
समारोहको प्रभावकारी सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ५६९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ।

बुद्धजयन्तीको अवसरमा लुम्बिनीमात्र नभई वृहत्तर लुम्बिनी क्षेत्र अन्तर्गतका ऐतिहासिक स्थलहरू रामग्राम, तिलौराकोट, कुदान, देवदह लगायत स्थानहरूमा दीप प्रज्वलन, सरसफाइ अभियान, नाट्य प्रस्तुति, शान्ति ध्यान, खेलकुद प्रतियोगिता, आँखा शिविर, रक्तदान, सहकारी खाना महोत्सव जस्ता कार्यक्रम आयोजना गरिनेछ। आइतबार साँझ भारतीय दूतावासको आयोजनामा दीप प्रज्वलन र सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको छ।

बुद्धजयन्तीको भोलिपल्ट, वैशाख ३० गते, बोधिसत्व सिद्धार्थको शोभायात्रा हुनेछ। लुम्बिनीबाट नवजात शिशु राजकुमार सिद्धार्थलाई तिलौराकोट लगिएको बौद्धकालीन कथनलाई पुनः स्मरण गराउने उद्देश्यले मायादेवी मार्ग हुँदै कपिलवस्तुसम्म यात्रा गरिनेछ।

लुम्बिनी विकास कोषका सदस्य–सचिव सानुराज शाक्यका अनुसार, सो शोभायात्रा बुद्धकालीन जीवनशैली र ऐतिहासिक यात्राको झल्को दिने गरी डिजाइन गरिएको छ।



प्रतिक्रिया दिनुहोस !