प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
अबको चरण वार्षिक बजेट निर्माण
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरेका थिए । प्रस्तावमाथि सत्तापक्ष र विपक्षी दलका सांसदहरूले आ-आफ्नो धारणा राख्दै मतदान गरेका थिए। छलफलपछि भएको मतदानमा नीति तथा कार्यक्रम बहुमतले पारित भयो ।
यसअघि नीति तथा कार्यक्रममाथि विस्तृत छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूद्वारा उठाइएका प्रश्नको जवाफ दिँदै सरकारले अघि सारेका प्राथमिकता, कार्यक्रम र लक्ष्यका बारेमा स्पष्ट पारेकाे थियो ।
अब सरकारले पारित नीति तथा कार्यक्रमलाई आधार मानी आगामी आर्थिक वर्षको बजेट निर्माण गर्ने तयारी अघि बढाउनेछ । नेपालको संविधानअनुसार प्रत्येक वर्ष जेठ १५ गते संघीय संसदमा आर्थिक वर्षको वार्षिक बजेट अर्थमन्त्रीले प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
संघीय सरकारको नीति तथा कार्यक्रम पारित भएपछि नीति अनुसारका कार्यक्रम कार्यान्वयन र बजेट व्यवस्थापनको चरण सुरु हुने जनाइएको छ ।








