२१ मंसिर २०८२, आइतबार

नेप्से दोहोरो अंकले घट्यो

प्रकाशित मिति :  11 May, 2025 4:58 pm


काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक कारोबारी साताको पहिलो दिन अर्थात् आइतवार दोहोरो अङ्कले घटेको छ। नेप्सेले सार्वजनिक गरेको विवरणअनुसार, आइतवारको कारोबारमा नेप्से परिसूचक ११.५३ अंकले घट्दै २६५०.११ बिन्दुमा झरेको छ।

आजको दिन कुल ३०० कम्पनीका २ करोड ४० लाख ११ हजार १४ कित्ता शेयरहरू ८८ हजार ९५५ पटक किनबेच भएका छन्। कुल कारोबार रकम १० अर्ब २० करोड २७ लाख रुपैयाँभन्दा बढी पुगेको छ।

उपसमूहहरूको प्रदर्शन हेर्दा विकास बैंक समूह १.२७ प्रतिशत, होटल तथा पर्यटन ६.५० प्रतिशत, जीवन बिमा ०.३१ प्रतिशत, निर्जीवन बिमा ०.०६ प्रतिशत र व्यापार समूह ०.२० प्रतिशतले वृद्धि भएका छन् । बाँकी सबै उपसमूहमा गिरावट देखिएको छ । बैंकिङ ०.५१, वित्त ३.७२, जलविद्युत् १.२६, लगानी १.५५, उत्पादन तथा प्रशोधन ०.३९, लघुवित्त ०.०९ र म्युचुअल फण्ड ०.२८ प्रतिशतले घटेका छन् ।

आज नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

यता, सबैभन्दा बढी मूल्य घट्ने कम्पनीमा सिन्धु विकास बैंक लिमिटेड परेको छ, जसको शेयर मूल्य ७.४५ प्रतिशतले घटेको हो । कारोबार रकमको हिसाबले राधी विद्युत् कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।

यसको कुल कारोबार रू ६६ करोड १० लाख ७० हजार बराबर भएको छ। कारोबार भएका शेयर सङ्ख्याको हिसाबले सबैभन्दा बढी किनबेच ङादी ग्रुप पावर लिमिटेडको भएको छ, जसको १५ लाख ६१ हजार ८७१ कित्ता शेयर किनबेच भएको हो ।

आजको बजार संकेतले समग्र बजारमा अलि बढी दबाब देखिए पनि केही बीमा र पर्यटन क्षेत्रको शेयरमा लगानीकर्ताको विश्वास कायम देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !