६ असार २०८२, शुक्रबार

लुम्बिनी सम्पूर्ण नेपालीको गौरवको केन्द्र-मुख्यमन्त्री आचार्य

प्रकाशित मिति :  12 May, 2025 7:15 am


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतम बुद्धको जन्मभूमि लुम्बिनी सम्पूर्ण नेपालीहरूको गौरवको केन्द्र रहेको बताएका छन् ।

२५६९औं बुद्ध जयन्तीको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनीको दीर्घकालीन र दिगो विकासका लागि प्रदेशवासीसँगै सम्पूर्ण नेपाली जनताको सक्रिय सहभागिता र सहकार्य अपरिहार्य रहेको बताएका हुन्।

मुख्यमन्त्री आचार्यले भगवान् बुद्धका उपदेशहरूबाट प्रेरणा लिएर सामाजिक सद्भाव, सहिष्णुता, एकता र समर्पणको भावना फैलाउन समेत आग्रह गरेका छन् । उनले लुम्बिनीलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको प्रमुख केन्द्रका रूपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।

सन्देशमा मुख्यमन्त्री आचार्यले लुम्बिनीलाई केन्द्रविन्दु बनाएर कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लालाई समेटेर ‘बुद्ध सर्किट’ निर्माण गर्ने योजना रहेको उल्लेख गरेका छन् । साथै, समग्र १२ जिल्लालाई समेट्ने ‘लुम्बिनी पर्यटन सर्किट’ अवधारणाको कार्यान्वयनलाई तीव्रता दिइने जनाएका छन् ।

“लुम्बिनीको समग्र विकासका लागि तयार पारिएको गुरुयोजनाको प्रभावकारी कार्यान्वयनमा सरकारको ध्यान केन्द्रित छ,” मुख्यमन्त्री आचार्यले सन्देशमा भनेका छन्, “बुद्धले प्रतिपादन गर्नुभएको अहिंसा, सदाचार र शान्तिको मार्गदर्शनले व्यक्ति, समाज, राष्ट्र र विश्वमै सकारात्मक प्रभाव पार्नेछ भन्ने विश्वास लिएको छु ।”

प्रदेश सरकारले लुम्बिनीको पूर्वाधार, पहुँच, पर्यटन प्रवर्द्धन र विश्व समुदायसँगको सहकार्यका माध्यमबाट लुम्बिनीलाई विश्वस्तरीय गन्तव्यस्थल बनाउने प्रयासलाई थप तीव्रता दिएको मुख्यमन्त्री आचार्यले जानकारी दिएका छन्।



प्रतिक्रिया दिनुहोस !