लुम्बिनी साझा श्रद्धा र शान्तिको भूमि हो: मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लुम्बिनीलाई साझा श्रद्धा र शान्तिको भूमि भएको बताएका छन् ।
सोमबार २५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८२ को मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले बुद्धलाई समस्त मानवताको साझा ज्योति र उनका शिक्षालाई कल्याणकारी, करुणा र सद्भावले भरिएको बताएका हुन् ।
“बुद्ध समस्त मानवताको साझा ज्योति हुनुहुन्छ। उहाँको ज्ञान सबै प्राणीको हितका लागि प्रज्वलित छ,” मन्त्री पाण्डेले भने, “बुद्धले दिनुभएको करुणा, ज्ञान र सद्भावजस्ता शाश्वत शिक्षाले जीवनलाई सत्मार्गमा डोर्याउने र विश्वभर शान्तिको सन्देश फैलाउने काम गरेका छन्।”
उनले लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन, चिन्तन र मननको केन्द्रको रूपमा स्थापित गराउने सरकारी लक्ष्य रहेको उल्लेख गरे। साथै, लुम्बिनीको बृहत् हितका लागि अन्तर्राष्ट्रिय समितिलाई पुनः सक्रिय बनाइनेमा विश्वास व्यक्त गरे।
मन्त्री पाण्डेले धार्मिक, सांस्कृतिक वा अन्य कुनै भिन्नतालाई छोडेर सम्पूर्ण मानवजातिको कल्याणको चिन्तन गर्दै लुम्बिनीलाई शान्तिको पवित्र भूमिका रूपमा स्थापित राख्नुपर्ने बताए। “लुम्बिनीका लागि चालिने प्रत्येक कदम सावधानी र सम्मानका साथ अघि बढाउँदै यसको दिव्यता र पवित्रता पुस्तौँ पुस्तासम्म कायम राख्नु हामी सबैको साझा कर्तव्य हो,” मन्त्री पाण्डेले भने।
समारोहमा उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ९भैरहवा० सञ्चालनका लागि सरकारले संवेदनशील ढंगले काम गरिरहेको जानकारी पनि दिए। यद्यपि भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि तयार पारिएको कार्ययोजना लागू भए पनि कार्यान्वयनमा केही समस्या रहेको उल्लेख गरे।