६ असार २०८२, शुक्रबार

लुम्बिनीमा प्रधानमन्त्री ओलीको घोषणाः अर्को वर्ष २६५० औं बुद्धजयन्ती अन्तर्राष्ट्रिय स्तरमा मनाइने

प्रकाशित मिति :  12 May, 2025 2:23 pm


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीमा आयोजित २६४९ औं बुद्धजयन्ती, २५६९ औं बुद्धसम्वत तथा लुम्बिनी दिवस २०८२ को अवसरमा आयोजित मुख्य समारोहमा सम्बोधन गर्दै अर्को वर्ष २६५० औं बुद्धजयन्तीलाई अन्तर्राष्ट्रिय स्तरमा मनाइने घोषणा गरेका छन्।

उनले यसका लागि आवश्यक सबै संरचनात्मक, प्रविधिगत र व्यवस्थापकीय पूर्वाधार तयार गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले लुम्बिनीमा आयोजित कार्यक्रममा विगतमा आफूले गरेका पूर्वाधार विकासका कामहरू उल्लेख गर्दै पाँच हजार क्षमताको हल निर्माण, साउन्ड सिस्टम सुधार तथा प्रमुख भाषामा अनुवाद सेवा सञ्चालनका लागि सरकार प्रतिवद्ध रहेको बताए। “अगाडि बसेकाले पनि राम्रोसँग सुन्न नसक्ने अवस्था अब रहने छैन,” उनले भने, “अर्को वर्ष छर्लङ्ग सुन्न सकिने प्रणाली तयार गरेर कार्यक्रम गरिनेछ।”

बुद्धको जन्म ई.पू. ६२३ मा भएको र त्यसअनुसार २६४९ औं बुद्धजयन्ती परेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बुद्धसम्वतको हिसाबले यस वर्ष २५६९ औं वर्ष लागेको स्पष्ट पारे। उनले त्रिपिटक निर्माणमा योगदान पुर्‍याउने भिक्षु आनन्द तथा अन्य शिष्यहरूको योगदानप्रति सम्मान प्रकट गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्रीले लुम्बिनीको गुरुयोजना अनुसारको विकासलाई अघि बढाइने जानकारीसमेत दिए। उनले जापानी वास्तुविद् केन्जो टांगेद्वारा तयार गरिएको गुरुयोजनालाई पूर्णता दिन सरकार गम्भीरताका साथ लागिपरेको बताए।

यस्तै, प्रधानमन्त्री ओलीले भारत र पाकिस्तानबिचको हालैको द्वन्द्वको सम्भावनालाई बुद्धका शान्ति सन्देशहरूले रोक्न सहयोग पुगेको उदाहरण दिँदै बुद्धका शिक्षाहरू आज पनि विश्वका लागि सान्दर्भिक रहेको बताए। “बुद्धको चिन्तन, दर्शन र शान्तिको सन्देश आज पनि व्यक्तिको मनदेखि विश्वसमुदायसम्मका लागि मार्गदर्शक बनेको छ,” ओलीले भने।

कार्यक्रममा विभिन्न देशका कूटनीतिक प्रतिनिधिहरू, मन्त्रीहरू, प्रदेश प्रमुखहरू, संघीय तथा प्रदेश सांसदहरू, बुद्ध धर्मावलम्बीहरू, भिक्षुहरू र स्थानीय सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो।



प्रतिक्रिया दिनुहोस !