२० मंसिर २०८२, शनिबार

दाङस्थित टरिगाउँ विमानस्थललाई चुनावी भर्‍याङ बनाइएको सांसद गिरीको ओरोप

प्रकाशित मिति :  13 May, 2025 12:27 pm


काठमाडाैँ । नेपाली कांग्रेसका सांसद दीपक गिरीले दाङस्थित टरिगाउँ विमानस्थललाई राजनीतिक दलहरुले चुनाव जित्ने भर्‍याङका रूपमा मात्र प्रयोग गर्दै आएको आरोप लगाएका छन्।

मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गिरीले विगतदेखि नै नीति तथा कार्यक्रममा विमानस्थलको स्तरोन्नतिको कुरा उठाइए पनि कार्यान्वयन नहुँदा आफु निराश भएको बताएका हुन् ।

उनले भने, “अस्ति भर्खरै नीति तथा कार्यक्रममा प्रधानमन्त्रीले दाङ एयरपोर्ट बन्नेछ भन्नुभयो, हामीले ताली बजायौं। तर फेरि त्यो कुरा नाटकीय ढंगले नहराओस्।”

देशकै दोस्रो पुरानो विमानस्थल मानिने टरिगाउँ (तुलसीपुर) विमानस्थललाई नेपालगन्ज र सुर्खेत विमानस्थलको विकल्पको रूपमा प्रयोग गर्न सकिने सम्भावना रहेको सांसद गिरीको भनाइ छ। उनले त्यसका लागि धेरै ठूलो रकम आवश्यक नपर्ने भन्दै आगामी आर्थिक वर्षको बजेटमा तीन अर्ब ४२ करोड रुपैयाँ विनियोजन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

“नेपालगन्ज र सुर्खेत विमानस्थलमा मौसम खराब भयो भने विकल्पका रूपमा टरिगाउँ विमानस्थल प्रयोग गर्न सकिन्छ। त्यसका लागि तीन अर्ब ४२ करोड विनियोजन हुनुपर्छ,” उनले भने।

दाङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद गिरीले लामो समयदेखि विमानस्थलको स्तरोन्नतिका लागि आवाज उठाउँदै आए पनि प्रभावकारी ढंगले काम अघि नबढेको भन्दै असन्तोष पनि व्यक्त गरे।



प्रतिक्रिया दिनुहोस !