१९ मंसिर २०८२, शुक्रबार

लुम्बिनीका सांसद गीता गुरूङ विदेश पलायन : बेलायतबाटै पठाइन् राजिनामा

प्रकाशित मिति :  13 May, 2025 2:38 pm


दाङ । राजनीति गर्नेहरू देश बनाउने सपना बाँच्छन् तर जब त्यो सपना आफैले देख्न छाडिन्छ, उनीहरू विदेश पलायन हुन्छन् । लुम्बिनी प्रदेशसभाकी जनमत पार्टीकी सांसद गीता गुरूङको पलायन पनि यस्तै कथा बन्यो ।

जनताको म्यान्डेट बोकेर प्रदेशसभामा पुगेकी गुरूङले पदबाट राजीनामा त दिइन् तर त्यो राजीनामा उनी आफ्नो गाउँको चौतारीबाट होइन, लन्डनको बस स्टपबाट आएको जस्तो देखिन्छ ।

दुई महिनाअघि नै बेलायत उडेकी गुरूङले उतैबाट हस्तलिखित राजीनामा पत्र पठाएकी छिन् । उनले पत्रमा आफू जनताको अपेक्षाअनुसार काम गर्न नसकेको र जनताको करबाट तलब नलिने निर्णय गरेकाे बताएकी छिन् ।

तर भित्रि कथा फरक छ । उनी निकट स्रोतहरूका अनुसार यो आत्ममूल्याङ्कन होइन, ”देश त्यागको घोषणा” हो । ”अब उहाँ बेलायतमै बस्नुहुन्छ, राजनीतिमा फर्कनु हुन्न”, उनका आफन्तले पुष्टि गरे ।

उनका पति कैलाश गुरूङले समेत राजीनामा पत्र सञ्चारकर्मीहरूलाई मेसेन्जरबाट पठाइदिए तर त्यो पत्र अझै प्रदेशसभा सचिवालयमा पुगेको छैन । सचिवालयका सचिव दुर्लभकुमार पुनले गुरूङको राजीनामा पत्र कुनै औपचारिक बाटोबाट नआएको पुष्टि गरे ।

संसदीय दलका नेता चन्द्रकेश गुप्ताले गुरूङ पछिल्लो दुई महिनायता सम्पर्कमै नरहेको बताए । ”उहाँ बेलायतमै हुनुहुन्छ भन्ने सूचना आएको छ”, उनले भने।

गीताको स्थायी ठेगाना भैरहवाको सिद्वार्थ नगर हो तर अब त्यो ठेगाना कागजमा मात्र सीमित हुने देखिएको छ । बेलायत आउजाउ गर्दै आएकी गुरूङ अन्ततः सदाका लागि बेलायतको बाटो रोजेपछि लुम्बिनी प्रदेशमा उनको राजनीतिक करिअर पनि निष्क्रिय बन्यो ।

परिघटना मात्रै हो त?
सांसद गुरूङको घटना सामान्य देखिए पनि यो नेपाली राजनीतिमा गहिरो विमर्शको विषय हो । जनताको करबाट तलब, सुविधा र विशेषाधिकार लिनेहरू जब जनताको जिम्मेवारीबाट भागेर देश बाहिर पलायन गर्छन्, त्यसले राजनीतिक चरित्रप्रति नै प्रश्न उठाउँछ ।

बेलायतमा बसेर सामाजिक सञ्जालमा सक्रिय देखिने, तर आफ्नै प्रदेशका मतदातासँग सम्पर्कमा नआउने प्रवृत्तिले अब गुरूङ जस्ता पात्रहरू केवल नाम मात्रका जनप्रतिनिधि थिए कि भन्ने बहस सुरु भएको छ ।

सांसद गुरूङको पलायन केवल उनी व्यक्तिगत रूपमा गरेको निर्णय मात्र हो त ? वा नेपाली राजनीतिमा देखिएको गहिरो मोहभङ्गको संकेत हो ? यो प्रश्न भने लुम्बिनी प्रदेशको संसददेखि सिंगो मुलुककै राजनीतिक वृत्तमा गुञ्जिन थालेको छ।



प्रतिक्रिया दिनुहोस !