सामाजिक सञ्जाल नियमन र मिडिया काउन्सिल विधेयक अन्तिम चरणमा-मन्त्री गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारमाथि गरिने आलोचना र खण्डनहरूलाई सहज रूपमा स्वीकार गर्न सरकार तयार रहेको बताएका छन् ।
मंगलबार बालुवाटारमा आयोजित सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै उनले आलोचना स्वस्थ लोकतन्त्रको आधार भएको बताउँदै तर विरोधका लागि मात्र विरोध गर्ने प्रवृत्ति गलत रहेको टिप्पणी गरे ।
उनले सरकारले कहाँ कमजोरी भयो, कहाँ सुधार गर्नुपर्छ भनेर खुलेर आलोचना गर्न मिडिया र नागरिकलाई आग्रह गरे । “हामी आलोचना र खण्डन स्वीकार्न तयार छौँ। कहाँ बिग्रियो भन्ने कुरा भन्नुहोस्। तर, विरोधको लागि विरोध गर्नु लोकतान्त्रिक संस्कार होइन,” मन्त्री गुरुङले भने ।
सामाजिक सञ्जाल र साइबर अपराध नियन्त्रणमा सरकार सक्रिय
मन्त्री गुरुङले नेपालमा सञ्चालित सामाजिक सञ्जालहरूले नेपालको संविधान र कानून मान्नुपर्ने स्पष्ट पारे । “सोसल नेटवर्क प्लेटफर्महरुले नेपालको कानून मान्नैपर्छ । म मान्छु, प्रधानमन्त्रीज्यू मान्नुहुन्छ, राष्ट्रपतिज्यू मान्नुहुन्छ भने तिनीहरूले पनि मान्नैपर्छ,” उनले जोड दिए ।
सामाजिक सञ्जालबाट फैलिरहेको गलत सूचना, अफवाह र डिजिटल अपराधका घटनाहरू बढ्दै गएको भन्दै उनले यस्ता प्लेटफर्महरूको प्रयोग, सञ्चालन र नियमन गर्न विधेयक संसदमा पेश भइसकेको जानकारी दिए । साइबर क्राइम नियन्त्रण मन्त्रालयको पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै उनले चाँडो भन्दा चाँडो सो विधेयक पारित गरिने बताए ।
मिडिया काउन्सिल विधेयक अन्तिम चरणमा
मन्त्री गुरुङले मिडिया काउन्सिल विधेयक पनि अन्तिम चरणमा रहेको बताउँदै मिडियाको स्वच्छता, उत्तरदायित्व र पेशागत मर्यादा कायम गर्न सरकारले आवश्यक कानुनी तयारी गरिरहेको जानकारी दिए ।
उनले यस्ता विधेयकहरू जनताको हित, लोकतन्त्रको मजबुती र सञ्चार क्षेत्रको मर्यादाका लागि आवश्यक भएको बताउँदै यस्ता विधेयकहरू लोकतन्त्रविरोधी नभइ लोकतन्त्रलाई थप सुदृढ बनाउने प्रयास भएको प्रष्ट पारे ।








