एमालेले मदन–आश्रित स्मृति दिवस विविध कार्यक्रमसहित देशभर मनाउने
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रित (मदन–आश्रित) स्मृति दिवस आगामी जेठ ३ गते देशभर विविध कार्यक्रम आयोजना गरी मनाउने भएको छ ।

पार्टी महासचिव शंकर पोखरेलले स्मृति दिवस देशव्यापी रूपमा मनाउन सबै प्रदेश तथा जिल्ला कमिटीहरूलाई परिपत्र जारी गर्दै विभिन्न सिर्जनात्मक र विविध विधाका कार्यक्रमहरू आयोजना गर्न निर्देशन दिएका छन् ।
एमालेले स्मृति दिवस पार्टीको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’को स्पिरिटअनुसार मुलुकको बाम तथा प्रजातान्त्रिक आन्दोलनमा मदन–आश्रितले पुर्याएको योगदान र उत्सर्गको सम्मान स्वरूप विविध कार्यक्रमहरू आयोजना गर्न निर्देशन दिएको हो ।
पार्टीले जिल्ला कमिटीहरूलाई स्मृति सभामा अन्य राजनीतिक दल, सामाजिक तथा सार्वजनिक व्यक्तित्वहरूलाई समेत सहभागी गराउन सुझाव दिएको छ ।
स्मृति दिवसमा रक्तदान कार्यक्रम, स्थानीय टेलिभिजन तथा रेडियोहरूमा परिसंवाद, सरसफाइ अभियान, स्वास्थ्य शिविर, वृक्षारोपणजस्ता कार्यक्रम राख्न निर्देशन दिइएको छ ।
साथै स्थानीय तहका जनप्रतिनिधिहरूलाई अनिवार्य रूपमा श्रमदानमा सहभागी भई चौतारो निर्माण, कुलो, पैनी, बगैँचाको संरक्षण, खेल मैदान सरसफाइ, सार्वजनिक धारा, कुवा, देउराली, मन्दिर, गुम्बा र अन्य धार्मिक स्थलहरूको सरसफाइ गर्न पनि परिपत्रमार्फत स्पष्ट गरिएको छ।
युवा जनसंगठनहरूलाई सामूहिक श्रमदानमा आधारित युवा केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्न र मातहत कमिटीमार्फत ती कार्यक्रमहरू सम्पादन गर्न निर्देशन दिइएको छ। पार्टीले प्रवासमा रहेका आफ्ना कमिटीहरूलाई समेत स्मृति दिवस मनाउन आह्वान गरेको छ।
स्मृति दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालयको आयोजनामा मदन नगर, बल्खुमा विशेष स्मृति कार्यक्रम आयोजना गरिने भएको छ।
२०५० साल जेठ ३ गते दासढुंगामा गाडी दुर्घटनाको नाममा मदन भण्डारी र जीवराज आश्रितको रहस्यमय हत्या भएको थियो । सो घटनाका एक्ला साक्षी गाडी चालक अमर लामालाई पनि पछि माओवादीले हत्या गरेका थिए ।








