गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन जनमत पार्टीकाे माग
दाङ । लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको पहिलो बैठकमा जनमत पार्टी दलका नेता चन्द्रकेश गुप्ताले प्रदेश सरकारसँग गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन माग गरेका छन् ।
उनले विमानस्थल सञ्चालन नहुँदा उद्योगी व्यवसायीको लगानी डुबेको भन्दै चाँडै अन्तर्राष्ट्रिय उडान सुरु गर्न सरकारसँग आग्रह गरे ।
बुधबारको प्रदेश सभा बैठकमा बोल्दै नेता गुप्ताले तस्करहरुकै कारण विमानस्थल निर्माणको आवश्यकता देखिएको भए पनि सञ्चालनमा ढिलाइ हुनु दुःखद भएको टिप्पणी गरे । उनले गाई तस्करी नियन्त्रण गर्नुपर्ने आवश्यकता पनि औंल्याउँदै प्रदेश सरकार गम्भीर नहुनुमा आपत्ति जनाए ।
प्रदेश सभामा उठाइएका सवालहरूको जवाफ नआएको भन्दै उनले सरकारसँग तत्काल जवाफ दिने व्यवस्था मिलाउन पनि माग गरे । ”साढे दुई वर्षदेखि हामीले उठाएका आवाज नसुनिएको गुनासो छ”, उनले भने, ”सदनलाई जवाफदेही बनाउने वातावरण बनाइयोस् ।”
नीति तथा कार्यक्रम ल्याउँदा प्रदेशको उत्पादन वृद्धि हुने नीतिहरू समेट्नुपर्ने सुझाव पनि नेता गुप्ताले दिए । साथै मल अभावका कारण किसान समस्यामा परेको भन्दै समयमा मल उपलब्ध गराउने वातावरण बनाइदिन सरकारसँग आग्रह गरे ।








