१९ मंसिर २०८२, शुक्रबार
लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशन

प्रदेशको समृद्धिका लागि पर्यटनमैत्री बजेट ल्याउन लोसपाको माग

प्रकाशित मिति :  14 May, 2025 2:15 pm


दाङ । लुम्बिनी प्रदेश सभाको बुधबार बसेको छैठौं अधिवेशनको पहिलो बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दलका नेता सन्तोषकुमार पाण्डेले प्रदेश सरकारलाई पर्यटनमैत्री बजेट ल्याउन आग्रह गरेका छन् ।

उनले बजेटको सिलिङ घटाउने कार्य नस्वीकार्य रहेको भन्दै केन्द्रसँग बजेट बढाएर प्रदेशको विकासमा लगाउन सरकारसँग माग गरे ।

नेता पाण्डेले त्रिवेणीको ऐतिहासिक तथा धार्मिक महत्व उल्लेख गर्दै उक्त क्षेत्रको पर्यटकीय विकासका लागि विशेष योजना ल्याउन सरकारलाई सुझाव दिए ।

”त्रिवेणीको पानी प्रयाग पुगेपछि जल बन्छ, त्यसैले त्रिवेणी धार्मिक आस्थाको केन्द्र हो,” उनले भने, ”यसलाई पर्यटक आकर्षित हुने स्थल बनाउने गरी योजना ल्याउनुपर्छ ।”

प्रदेशको समृद्धिको मुख्य आधार पर्यटन रहेको उल्लेख गर्दै उनले सरकार पर्यटन प्रवर्द्धनका लागि दीर्घकालीन योजना ल्याउन ढिला नगर्न चेतावनी दिए ।

उनले नेपाल आउने पर्यटकहरू विभिन्न स्थानमा बारम्बार चेकिङका कारण आजित हुने गरेको बताउँदै पर्यटनमैत्री वातावरण बनाउन आतिथ्य संस्कृतिको प्रवर्द्धन गर्नुपर्ने बताए ।

”यहाँ आउने पर्यटकहरूले सम्मान पाउनुपर्छ, चेकिङको नाममा हैरानी दिनु हुँदैन,” उनले थपे, ”सरकारले प्रदेशलाई पर्यटकमैत्री बनाउने रणनीति अवलम्बन गर्नुपर्छ ।”



प्रतिक्रिया दिनुहोस !