प्रदेशको समग्र वस्तुस्थिति अध्ययन गरी नीति तथा कार्यक्रम र बजेट ल्याउन माओवादी केन्द्रको आग्रह
दाङ । लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको पहिलो बैठकमा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक इन्द्रजीत थारुले समग्र प्रदेशको वस्तुस्थिति अध्ययन नगरी नीति तथा कार्यक्रम र बजेट ल्याउने क्रम रोक्न सरकारलाई आग्रह गरेका छन् । उनले यो आर्थिक वर्षदेखि नै नीति तथा कार्यक्रम र बजेटमा एकरुपता ल्याउने अभ्यास सुरु गर्नुपर्नेमा जोड दिए ।
नेता थारुले हरेक वर्ष मुख्यमन्त्रीले नीति तथा कार्यक्रम र अर्थमन्त्रीले बजेट ल्याउने परिपाटीले एकरुपता अभाव भएको टिप्पणी गर्दै यो बिडम्बनाको अन्त्य हुनुपर्ने बताए ।
उनले आर्थिक सर्वेक्षण नगरी नीति तथा कार्यक्रम ल्याउने तयारी गलत रहेको भन्दै तत्काल सच्याउन सरकारसँग माग गरे । ”आर्थिक सर्वेक्षणको आधारविना नीति तथा कार्यक्रम र बजेट ल्याउनु उपयुक्त हुँदैन,” उनले भने ।
प्रदेश संरचना र शासनप्रति जनताको आकर्षण र भरोसा घट्दै गएको अवस्थामा त्यसलाई बढाउने खालको नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा पनि उनले जोड दिए । ”प्रदेशको प्राथमिकता नतोकिकन बजेट ल्याउनु हुँदैन,” थारुले भने, ”आर्थिक कार्यविधि तथा उत्तरदायित्व ऐनको मर्मअनुसार बजेट प्रक्रिया अघि बढाइनुपर्छ ।”
उनले बजेट घटाएर नभई करका दायरा विस्तार गरेर प्रदेशको आयस्रोत बढाउनुपर्ने सुझावसमेत दिए । ”कानुनको अभावका कारण प्रदेशको राजस्व स्रोत खुम्चिंदै गएको छ, यसप्रति सरकार गम्भीर होस्,” उनले चेतावनी दिए । थारुले माओवादी केन्द्र प्रतिपक्षीको भूमिकामा भए पनि प्रदेशको हितका लागि रचनात्मक भूमिका खेल्ने प्रतिबद्धता जनाए ।








