१९ मंसिर २०८२, शुक्रबार
लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशन

कृषि र उद्योगलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन एमालेको आग्रह

प्रकाशित मिति :  14 May, 2025 3:09 pm


दाङ । लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको पहिलो बैठकमा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले प्रदेश सरकारले कृषि र उद्योगलाई प्राथमिकतामा राखेर यथार्थ धरातलमा आधारित नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।

चौधरीले विगतका अनुभवहरूलाई सम्पत्तीका रूपमा ग्रहण गर्दै समीक्षा र छलफलका आधारमा आगामी वर्षको नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । उनले प्रदेश सभालाई समीक्षा र सुझाव दिने अवसरका रूपमा लिइनुपर्ने भन्दै सरकार सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्नुपर्ने बताए ।

उनले आवश्यक परे कानुन संशोधन वा नयाँ कानुन निर्माण गरी प्रदेशको प्राथमिकतामा केन्द्रित नीति तथा कार्यक्रम ल्याउनुपर्ने पनि उल्लेख गरे । ”संसद बहुमत र अल्पमतको आधारमा मात्र अघि बढ्नु हुँदैन,” उनले भने, ”सर्वसम्मतिको आधारमा नीति तथा कार्यक्रम र बजेट ल्याउने प्रयास सरकारले गरिरहेको छ, यसले प्रदेशलाई सफल बनाउने मेरो विश्वास छ ।”

चौधरीले पूँजीगत खर्च पारदर्शी ढंगले भइरहेको भन्दै सुशासनमा सरकार सफल हुने दाबी गरे । उनले प्रदेश सभाका सांसदहरू समस्या होइन समाधानका लागि हुन् भन्दै प्रदेशसभा सदस्यहरू प्रदेशका विषयमा मात्र केन्द्रित भई छलफल गर्नुपर्नेमा जोड दिए ।

”हामी तीनै तहका सरकारसँग जोडिएका छौं, त्यसैले प्रदेशसभाका सांसदहरूले समस्या मात्रै उठाउने होइन, समाधान दिने गरी अगाडि बढ्नुपर्छ,” उनले भने । कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा पनि चौधरीले जोड दिए ।



प्रतिक्रिया दिनुहोस !