१९ मंसिर २०८२, शुक्रबार
लुम्बिनी प्रदेश सभामा सांसदहरूको सरकारलाई स्पष्ट सन्देश

यथार्थ धरातलमा आधारित नीति तथा कार्यक्रम र नागरिकमैत्री बजेट ल्याउनुहोस्

प्रकाशित मिति :  14 May, 2025 5:04 pm


दाङ । लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशन बुधबारबाट सुरु भएको छ । अधिवेशनको पहिलो बैठकमा विभिन्न दलका संसदिय दलका नेताहरूले सरकारलाई नीति तथा कार्यक्रम र बजेट ल्याउँदा प्रदेशको समग्र यथार्थ र जनताको आवश्यकता केन्द्रमा राख्न आग्रह गरेका छन् ।

सांसदहरूले सरकारलाई कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्यजस्ता उत्पादनमूलक र नागरिक सेवा प्रवर्द्धन गर्ने क्षेत्रलाई प्राथमिकतामा राखेर व्यवहारमा लागू गर्न सकिने नीति तथा कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।

नीति तथा कार्यक्रम र बजेटमा एकरुपता ल्याउन एमालेको जोड
बैठकमा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले विगतका कमजोरीबाट पाठ सिक्दै आगामी नीति तथा कार्यक्रम र बजेट यथार्थ धरातलमा उभिएर ल्याउनुपर्नेमा जोड दिए । उनले प्रदेशको समृद्धिको आधार कृषि र उद्योग भएकाले यी क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताए ।

”विगतमा नीति तथा कार्यक्रम ल्याउँदा व्यवहारमा लागू हुन नसक्ने कार्यक्रमहरू प्राथमिकतामा राखियो, अब त्यसको समीक्षा गर्दै नयाँ कार्यक्रम ल्याउनुपर्छ,” उनले भने । चौधरीले पूँजीगत खर्च पारदर्शी ढंगले भइरहेको भन्दै प्रदेश सरकार सुशासनमा सफल भइरहेको धारणा पनि राखे ।

उनले प्रदेश सभा सदस्यहरू समस्याका समाधानका लागि हुने भएकाले सदनमा प्रदेशभित्रका विषयमा मात्र छलफल हुनुपर्नेमा पनि जोड दिए । ”हामी समस्याका होइन, समाधानका पात्र हौं, त्यसैले प्रदेशलाई केन्द्रमा राखेर मात्रै आवाज उठाउनुपर्छ,” चौधरीले भने ।

महिला, युवा, स्वास्थ्य र शिक्षामा प्राथमिकता दिन कांग्रेसको आग्रह
नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक जमुना ढकालले महिलामैत्री र नागरिकमैत्री बजेट ल्याउनुपर्ने माग गरिन् । उनले अघिल्लो वर्ष सरकारले ल्याएको ‘पहिला आत्मनिर्भर महिला’ नीति व्यवहारमा लागू हुन नसकेको भन्दै यस वर्ष केवल घोषणामै सीमित नहुने खालको कार्यान्वयनमुखी नीति तथा कार्यक्रम ल्याउन सुझाव दिइन् ।

ढकालले मातृमृत्यु र बालमृत्यु दर बढ्दै गएकाले स्वास्थ्य क्षेत्रमा विशेष बजेट छुट्याउनुपर्ने बताइन् । उनले शिक्षा र स्वास्थ्यमा जनताको पहुँच अझै सीमित भएको भन्दै घरघरसम्म पुग्ने सेवामुखी नीति ल्याउन सरकारलाई आग्रह गरिन् । साथै उनले कृषि र पर्यटन क्षेत्रलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन् ।

आर्थिक सर्वेक्षण नगरी नीति ल्याउने तयारी सच्याउन माओवादी केन्द्रको चेतावनी
माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक इन्द्रजीत थारुले सरकार आर्थिक सर्वेक्षण नगरी नीति तथा कार्यक्रम ल्याउने तयारीमा रहेको भन्दै आपत्ति जनाए । उनले आर्थिक सर्वेक्षणको आधारमा मात्र नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने बताए ।

”मुख्यमन्त्रीले नीति तथा कार्यक्रम र अर्थमन्त्रीले बजेट ल्याउँदा एकरुपता अभाव देखिएको छ, यो बिडम्बनाको अन्त्य यो वर्षबाट गर्नुपर्छ,” थारुले भने । उनले प्रदेशमा करको दायरा बढाएर मात्रै बजेट बनाउनुपर्ने र राजश्वका स्रोतहरू खुम्चिदै गएकाले त्यसतर्फ सरकारको ध्यान जानुपर्ने धारणा राखे ।

पर्यटन विकासलाई केन्द्रमा राख्न लोसपा र जनमत पार्टीको जोड
लोकतान्त्रिक समाजवादी पार्टीका नेता सन्तोषकुमार पाण्डेले लुम्बिनी प्रदेशको समृद्धिको आधार पर्यटन भएको भन्दै पर्यटनमैत्री बजेट ल्याउन सरकारलाई आग्रह गरे । उनले त्रिवेणी क्षेत्रको धार्मिक र पर्यटकीय विकासका लागि विशेष योजना ल्याउनुपर्ने बताए ।

‘त्रिवेणीको पानी प्रयाग पुगेपछि जल बन्छ, त्यसैले यो धार्मिक आस्थाको केन्द्र हो, सरकारले यसलाई अन्तर्राष्ट्रिय गन्तव्य बनाउनुपर्छ,’ पाण्डेले भने ।

जनमत पार्टीका नेता चन्द्रकेश गुप्ताले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको माग गर्दै उद्योगी व्यवसायीको लगानी डुब्न नदिन तत्काल अन्तर्राष्ट्रिय उडान सुरु गर्न सरकारलाई आग्रह गरे । साथै उनले गाई तस्करी नियन्त्रण गर्न, मल अभाव हटाउन र सदनमा उठाइएका प्रश्नहरूको जवाफ दिने वातावरण बनाइदिन पनि माग गरे ।

सांसदहरूबीच यथार्थ धरातलमा आधारित, सर्वसम्मतिको नीति तथा कार्यक्रम ल्याउने सुझाव
बैठकमा अधिकांश सांसदहरूले केवल आकर्षक घोषणा र नारामै सीमित हुने नीति तथा कार्यक्रमको सट्टा जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने व्यवहारिक कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिए ।

उनीहरूले प्रदेशसभा छलफल, समीक्षा र सुझाव दिने थलो हो भन्दै सरकारलाई आगामी नीति तथा कार्यक्रम र बजेटमा सबै पक्षको सहभागिता र सहमतिलाई प्राथमिकता दिन आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !