प्रधानमन्त्री ओलीसँग चिनियाँ जनकङ्ग्रेस उपाध्यक्षको शिष्टाचार भेट
काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबीचको दीर्घकालीन मित्रवत् सम्बन्ध, आपसी सहकार्य र क्षेत्रीय विकासका विषयमा छलफल भएको छ ।
भेटका क्रममा उपाध्यक्ष सिआओ चीले यही जेठ २ गतेदेखि काठमाडौँमा सुरु हुन लागेको ‘सगरमाथा संवाद’ सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्दै चीन नेपालसँगको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ गर्न इच्छुक रहेको बताए ।
उनले प्रधानमन्त्री ओलीको गत डिसेम्बरमा भएको चीन भ्रमणलाई सफल र फलदायी रहेको स्मरण गर्दै नेपालका लागि चीनको सहयोग र सद्भाव निरन्तर रहने बताए ।
प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच लामो समयदेखि मित्रवत्, समस्यारहित र हार्दिक सम्बन्ध रहँदै आएको उल्लेख गर्दै चीनले विकास र प्रविधिका क्षेत्रमा गरेको तीव्र प्रगतिबाट नेपाल प्रभावित रहेको बताए। साथै, उनले राष्ट्रपति सी जिनफिङको पछिल्लो नेपाल भ्रमणलाई बहुआयामिक र ऐतिहासिक ठहर गर्दै नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको पुनः स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले दुई देशबीच भएका सहकार्यसम्बन्धी सम्झौताहरूको प्रभावकारी कार्यान्वयनका लागि दुबै पक्षबाट सक्रियता आवश्यक रहेकोमा जोड दिए।
भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि चिनियाँ राजदूत चन सोङ, चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओली, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू लगायतको उपस्थिति रहेको थियो।








